लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यका हरेक कामलाई प्रभावकारीरुपमा कार्य सम्पादन गर्ने कर्मचारी प्रशासन भएको बताउनुभएएको छ ।
उहाँले प्रदेशसभाबाट निजामती विधेयक पारित गरी कार्यान्वयनमा आएमात्र सङ्घीयता बलियो हुने बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको प्रदेश निजामती विधेयक विषयक छलफल कार्यक्रममा उहाँले प्रदेशका जनतालाई सकारात्मकरुपले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले कर्मचारी प्रशानलाई जनताको सेवकका रुपमा अगाडि बढाएर सेवा प्रवाहलाई छिटो, छरिटो प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो ।मुख्यमन्त्री केसीले सङ्घीयताको कार्यन्वयनका लागि कर्मचारी प्रशासन तयार भएपछि मात्रै सङ्घीयताले मूर्तरुप लिने बताउनुभएको छ ।
उहाँले लुम्बिनी प्रदेशको निजामती कर्मचारी ऐन नमूना र कार्यान्वयनका लागि सहज हुने तरिकाले निर्माण गरी अगाडि बढाउन निर्देशनसमेत दिनुभएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डिल्लीराम शर्माले सङ्घीयताको मर्म र भावनाअनुसार राजनीतिक सङ्घीयता, प्रशासनिक सङ्घीयता र वित्तीय सङ्घीयताको सहकार्य तथा समन्वयमा मात्रै सङ्घीयता बलियो हुने बताउनुभएको छ ।
प्रदेश निजामती विधेयक मन्त्रिपरिषद्को बैठकले पारित गरी प्रदेशसभामा लैजाने गरी तयार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन सचिव नरेन्द्रकुमार रानाले बताउनुभएको हो ।

