
काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको उदारतालाई कमजोरी नठान्न राजावादीलाई चेतावनी दिएका छन्।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राजावादीहरूलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिइएको भन्दै निरन्तर संविधान उलंघन र संघीय लोकतान्त्रिक गणतन्त्रको गलत प्रचार गर्ने काम भइरहे सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका हुन्।
उनले अब राजावादीको आगामी गतिविधिको आधारमा सरकारले आवश्यक प्रतिवाद गर्ने स्पष्ट पारे । गुरुङले संविधान विरोधी क्रियाकलाप बढिरहेको र हत्या,हिंसा,लुटपाट र आगजनीबाट सरकारलाई चुनौती दिने काम भइरहेको उल्लेख गरे । मन्त्री सुब्बाले राजावादीको गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भए पनि आजको दिनसम्म प्रतिबन्ध नलगाएको जिकिर गरे।
उहाँले जेठ १५ गते राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनलाई सरकारले भव्य रुपमा मनाउन लागेको जानकारी दिए । परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको दलहरू गणतन्त्रका पक्षमा एकै ठाउँमा रहेको उनले बताए।