काठमाडौं । चुनाव बहिष्कारक घोषणा गर्दै आएका ऋषि कट्टेल लाई प्रहरीले नियन्त्रणमा लिएको छ। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बिथोल्ने आशंकामा उनलाई पक्राउ गरिएको सुरक्षा स्रोतले जनाएको छ।
विगतदेखि नै संसदीय व्यवस्थाको खुलेर विरोध गर्दै आएका कट्टेलले आफ्नो पार्टीको तर्फबाट निर्वाचन बहिष्कारको नीति सार्वजनिक गरेका थिए। उनले संसदीय प्रणालीलाई “जनताको हितविपरीत” भन्दै सडक संघर्षमार्फत विकल्प खोज्नुपर्ने धारणा राख्दै आएका थिए।
प्रहरीका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न र निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले उनलाई नियन्त्रणमा लिइएको हो। यस विषयमा औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन।
यता, कट्टेल पक्षधरहरूले भने यसलाई राजनीतिक दमनको संज्ञा दिएका छन्। उनीहरूले शान्तिपूर्ण विरोध गर्ने अधिकार कुण्ठित गरिएको आरोप लगाएका छन्।
फागुन २१ को निर्वाचनलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ। संवेदनशील क्षेत्रहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

