सबैलाई पठाउनु होला

शुक्लाफाँटा नगरपालिका ८ मा अवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य मुडका (मणिका धाम) अब झिलीमिली उज्यालोले चम्किएको छ। वर्षौँदेखि अँध्यारोमा पूजा–आराधना गर्न बाध्य भक्तजनका लागि यो वर्ष विशेष बनेको छ, किनकि धाम क्षेत्रमा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रले करिब रु ६५ लाखको लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ वटा पोल जडान गरी ट्रान्सफर्मर स्थापना गरेपछि धाम उज्यालो बनेको हो। अब मन्दिर परिसर, नवनिर्मित भजनघर र आसपासका क्षेत्र बल्बको प्रकाशले टल्किरहेका छन्।

पहिले साँझ परेपछि आरती, भजन कीर्तन र धार्मिक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुन्थ्यो। अँध्यारोका कारण भक्तजनले सास्ती खेप्नुपर्थ्यो। तर अहिले अवस्था फेरिएको छ धाम परिसर उज्यालो, सुरक्षित र व्यवस्थित बनेको छ। स्थानीयवासीका अनुसार विद्युत् सेवाले धार्मिक गतिविधिमा नयाँ उत्साह थपेको छ।

धार्मिक आस्थाको केन्द्र मणिका धाममा हरेक वर्ष फागुन शुक्ल पक्षको नवमी र दशमीमा परम्परागत मेला (जाँत) लाग्ने गर्दछ। बैजनाथ बाबाको दर्शनले मनोकामना पूरा हुने विश्वासका साथ नेपाल र भारतबाट हजारौँ श्रद्धालु यहाँ आउने गर्छन्। यस वर्षको मेलामा रातिको समयमा पनि भक्तजन निर्धक्क सहभागी हुन सक्ने भएका छन्।

झिलीमिली उज्यालोले अब मणिका धामलाई अझ आकर्षक बनाएको छ। विद्युत् सेवा विस्तारले धार्मिक गतिविधि मात्र होइन, पर्यटन प्रवर्द्धन र स्थानीय व्यापार–व्यवसायमा समेत सकारात्मक ऊर्जा थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com