गोरखा–१ मा परिवर्तनको संकेत: स्वतन्त्र उम्मेदवार कविता भट्टराईको पक्षमा जनलहर
गोरखा क्षेत्र नम्बर १ यतिबेला केवल निर्वाचनको मैदान होइन, जनआक्रोश र राजनीतिक पुनर्मूल्यांकनको केन्द्र बनेको छ। नियमित रूपमा २०८४ सालमा हुनुपर्ने निर्वाचन असामान्य परिस्थितिका कारण अघि सरेको सन्दर्भमा जनताको मनोदशा पनि असामान्य छ। भदौ २३ र २४ गतेको जेएनजी आन्दोलन, ७६ जना युवाहरूको रगत र बलिदान, र देशले व्यहोरेको ठूलो क्षतिले नागरिक मनमा गहिरो चोट दिएको छ। यस्तो घडीमा स्वतन्त्र उम्मेदवार कविता भट्टराई ले उठाएको आवाज केवल उम्मेदवारी होइन । यो जनआक्रोशको राजनीतिक अभिव्यक्ति हो।
राजनीतिक वितृष्णाको बीचमा वैकल्पिक आशा
विगतका वर्षहरूमा दलगत राजनीतिप्रति बढ्दो वितृष्णा, नेताहरूको व्यवहारप्रति घृणा र निराशाले जनतालाई विकल्प खोज्न बाध्य बनाएको छ। गोरखा १ मा घरदैलो अभियानका क्रममा कविता भट्टराईले प्रत्यक्ष रूपमा जनताको भावना बुझ्ने अवसर पाएकी छन्। उनको दाबी छ ।“राजनीतिक असन्तुष्टि भएका जनताले मात्रै मत हाल्ने अवस्था आयो भने पनि म जित्छु।”
यो भनाइ आत्मविश्वास मात्र होइन, जनविश्वासको संकेत पनि हो।
संगठनको मत बनाम जनमत
दलका उम्मेदवारहरूले संगठनको मत पाउनेमा शंका छैन। तर संगठनभित्रै असन्तुष्टि बढिरहेको यथार्थलाई नकार्न सकिँदैन। धेरै कार्यकर्ता स्वयं दलको नेतृत्वप्रति निराश छन्। यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवारतर्फ आकर्षण बढ्नु स्वाभाविक हो।
कविता भट्टराईको अभियानमा देखिएको जनसहभागिता र प्रतिबद्धताले संकेत गर्छ यो चुनाव परम्परागत मतगणनाको अंकगणितभन्दा बाहिरको परिणाम दिन सक्छ।
परिवर्तनको मनोविज्ञान
चुनाव केवल जित–हारको प्रतिस्पर्धा होइन; यो जनताको मनोविज्ञानको प्रतिबिम्ब हो। जब जनता आक्रोशित हुन्छन्, उनीहरू स्थापित शक्तिलाई चुनौती दिन तयार हुन्छन्। गोरखा–१ मा अहिले त्यही मनोविज्ञान देखिएको छ।
कविता भट्टराईको उम्मेदवारी महिला नेतृत्वको सशक्त उपस्थिति पनि हो। राजनीतिमा महिलाको सहभागिता अझै सीमित रहेको सन्दर्भमा उनको अग्रसरता स्वयंमा सकारात्मक सन्देश हो।
गोरखा १ को यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन; यो जनताले आफ्नो असन्तुष्टि, आक्रोश र आशालाई मतपत्रमार्फत व्यक्त गर्ने अवसर हो। यदि राजनीतिक वितृष्णा नै निर्णायक तत्व बन्यो भने स्वतन्त्र उम्मेदवार कविता भट्टराईको पक्षमा परिणाम जानु अस्वाभाविक हुने छैन।
समयले के निर्णय गर्छ त्यो मतपेटिकाले बताउनेछ, तर अहिले गोरखा १ मा परिवर्तनको बहसको केन्द्रमा कविता भट्टराई निश्चय नै उभिएकी छन्।

