डडेल्धुरा । सुदूरपश्चिमको महत्वपूर्ण राजनीतिक केन्द्र मानिने डडेल्धुरा मा ३४ वर्षदेखि कायम रहेको नेपाली कांग्रेस को बलियो किल्ला यसपटक भत्किएको छ। प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी भारी मतान्तरसहित विजयी भएका छन्।
निर्वाचन परिणामअनुसार जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नैनसिंह महर लाई ७ हजार १० मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। जोशीले कुल १९ हजार १३१ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरेका छन्।
त्यस्तै, प्रतिस्पर्धामा रहेका नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार मानसिंह माल ले ६ हजार ८३४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
यसैगरी नेकपा एमाले का उम्मेदवार चक्र स्नेही ३ हजार ०२६ मतसहित चौथो स्थानमा रहेका छन्।
यस नतिजासँगै लामो समयदेखि कांग्रेसको प्रभाव रहेको डडेल्धुराको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आएको विश्लेषण गरिएको छ। स्थानीय मतदाताले परम्परागत दलहरूभन्दा वैकल्पिक शक्तिलाई रोजेको संकेतका रूपमा यस परिणामलाई हेरिएको छ।

