झापा । झापा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रकाश पाठक विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाठकले राजेन्द्र लिङ्देन लाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन्।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार पाठकले ३८ हजार ६७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङ्देनले १७ हजार २९४ मत मात्रै ल्याए। यससँगै पाठकले लिङ्देनलाई २१ हजार ३८० मतान्तरले पराजित गरेका हुन्।
यसअघि राजेन्द्र लिङ्देन २०७४ र २०७९ सालको निर्वाचनमा नेकपा एमाले सँग गठबन्धन गर्दै विजयी भएका थिए। २०७४ सालमा राप्रपाबाट एक्लै प्रत्यक्ष निर्वाचित भएका उनी त्यही राजनीतिक आधारमा पार्टीको अध्यक्ष बनेका थिए। तर यसपटक रास्वपाको बढ्दो जनलहरका कारण उनी पराजित भएका छन्।
प्रकाश पाठक को जन्म २०४५ साल साउन १ गते बाह्रदशी गाउँपालिका को घाग्रामा भएको हो। उनले त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।
रास्वपामा प्रवेश गर्नु अघि उनले करिब १४ वर्ष पत्रकारितामा सक्रिय भूमिका निर्वाह गरेका थिए। पत्रकारिताको क्रममा उनले Galaxy 4K Television मा वरिष्ठ उपसम्पादक, Radio Kantipur मा उपसम्पादक तथा Radio Annapurna मा समाचार निर्माता भएर काम गरेका थिए। साथै उनले रेडियो एंकरिङ, नेतृत्व तालिम, कृषि तथा शिक्षा क्षेत्रमा नीतिगत विश्लेषण र रणनीतिक परामर्शमा पनि अनुभव हासिल गरेका छन्।
पाठकले शिक्षामा समान पाठ्यक्रम र एकरूप पोशाक प्रणालीको प्रवर्द्धन, बाढी–पहिरो लगायत विपद् व्यवस्थापनमा सहायता तथा समन्वय प्रणाली स्थापना, सामाजिक मुद्दामा अनुसन्धान तथा जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका खेलेको बताएका छन्।
निर्वाचनमा विजयी भएपछि उनले नीतिगत समझ, सञ्चार नेतृत्व र सामाजिक उत्तरदायित्वलाई समन्वय गर्दै सार्वजनिक सरोकारका विषयमा संस्थागत तथा दीर्घकालीन प्रभाव सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

