सबैलाई पठाउनु होला

चितवन । चितवन क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रेनु दाहालको पराजयलाई धेरैले स्थानीय विकास वा व्यक्तिगत लोकप्रियताको आधारमा मात्र व्याख्या गर्न खोजे पनि यसको मूल कारण भने राष्ट्रिय राजनीतिमा बनेको जनआक्रोश र नेतृत्वप्रति घट्दो विश्वास रहेको विश्लेषण गरिएको छ। धेरैको मतमा यो हारको सबैभन्दा ठूलो जिम्मेवारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि नै जान्छ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएयता प्रचण्ड निरन्तर सत्ताको केन्द्र वरिपरि नै घुमिरहे। विभिन्न राजनीतिक मुद्दा उठाउँदै सत्ता यात्रामा अघि बढे पनि उनले उठाएका धेरै मुद्दा व्यवहारमा कार्यान्वयन गर्न नसकेको आरोप लाग्दै आएको छ। विचार, सिद्धान्त, योजना र कार्यनीतिभन्दा पनि गठबन्धनको राजनीतिमा अत्यधिक निर्भर हुने प्रवृत्तिले उनको नेतृत्वमाथि जनविश्वास क्रमशः कमजोर हुँदै गएको विश्लेषकहरूको भनाइ छ।

पार्टीभित्र समेत आफू निकटकालाई प्राथमिकता दिने र अरूलाई पाखा लगाउने प्रवृत्तिले पनि प्रचण्डको विगतको राजनीतिक योगदानलाई क्रमशः ओझेलमा पार्दै लगेको आरोप लाग्ने गरेको छ। यही नेतृत्वशैलीको असर प्रत्यक्ष रूपमा चितवन क्षेत्र नम्बर ३ को चुनावमा परेको राजनीतिक वृत्तमा चर्चा छ।

यता रेनु दाहालले भरतपुर महानगरपालिका को मेयरका रूपमा गरेका विकासका कामलाई हेर्दा उनी व्यक्तिगत रूपमा कमजोर उम्मेदवार भने थिएनन्। सडक, पूर्वाधार, सहरी व्यवस्थापन र नागरिकसँगको प्रत्यक्ष सम्पर्कका कारण उनले स्थानीय तहमा राम्रो छवि बनाएकी थिइन्। जनताको घरदैलोमा पुगेर दुःख सुख साट्ने र निरन्तर सक्रिय रहने नेतृका रूपमा उनको पहिचान थियो।

तर फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचन केवल व्यक्तिको मूल्याङ्कन गर्ने चुनाव मात्र रहेन। यो चुनाव पुराना दलप्रति जनतामा बढ्दै गएको असन्तुष्टि व्यक्त गर्ने माध्यम पनि बन्यो। यही असन्तुष्टिको लहरका बीच नयाँ शक्ति भनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ले चितवन ३ मा मात्र होइन, देशका विभिन्न क्षेत्रमा अप्रत्याशित सफलता हासिल गरेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस पटकको निर्वाचनले एउटा स्पष्ट सन्देश दिएको छ । जनताले व्यक्तिलाई मात्र होइन, पार्टीको नेतृत्व, नीतिगत विश्वसनीयता र राजनीतिक संस्कारलाई पनि मूल्याङ्कन गरेका छन्। परिणामस्वरूप कतिपय क्षेत्रमा विकास गरेका र जनतासँग निकट मानिएका नेताहरू समेत पराजित हुन पुगे।

चितवन ३ को परिणामले पनि यही संकेत गरेको छ कि जब पार्टी नेतृत्वप्रति जनविश्वास कमजोर हुन्छ, त्यसको असर अन्ततः असल र काम गर्ने उम्मेदवारहरूमा पनि पर्न सक्छ। यसरी हेर्दा रेनु दाहालको हार केवल व्यक्तिगत पराजय नभई नेतृत्वप्रति बढ्दो असन्तुष्टिको राजनीतिक प्रतिबिम्बका रूपमा व्याख्या गर्न थालिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com