काठमाडौं । नेपालको पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम असुल्ने प्रकरणमा ट्रेकिङ कम्पनीका एक सञ्चालक पक्राउ परेका छन्। प्रहरीले पासाङ शेर्पा (५०) लाई फागुन २७ गते पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार उनी पनोरमा हिमालय ट्रेकिङ एन्ड एक्स्पेडिसन प्रा.लि. का सञ्चालक हुन्। सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१, सोलुखुम्बु जिल्ला स्थायी घर भएका शेर्पामाथि विदेशी पर्यटकलाई स्वास्थ्य समस्या परेको देखाएर नक्कली उद्धार गराएको कागजात तयार गरी बीमा रकम दाबी गर्ने कार्यमा संलग्न रहेको आरोप छ।
अनुसन्धानका क्रममा उच्च हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकलाई बिरामी भएको देखाएर हेलिकप्टरमार्फत उद्धार गरिएको भन्दै “यात्रु तथा सामान विवरण सूची” लगायतका आधिकारिक अभिलेख फरक पारी किर्ते कागजात बनाउने गरिएको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि उद्धार गरिएको भनिएका पर्यटकलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरिएको देखाई नक्कली बिल, मेडिकल रिपोर्ट तथा डिस्चार्ज कागजात तयार गरी बीमा कम्पनीसँग रकम दाबी गर्ने गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
यस प्रकरणमा माउन्टेन रेस्क्यु सर्भिस प्रा.लि., एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रा.लि. र नेपाल चार्टर सर्भिस प्रा.लि. लगायतका कम्पनीहरू पनि अनुसन्धानको दायरामा रहेका छन्।
विदेशी नागरिकले सन् २०२५ मा सगरमाथा आधार शिविर ट्रेकका क्रममा आफ्नो सहमति बिना हेलिकप्टर बोलाएर काठमाडौं ल्याई अस्पताल भर्ना गराई बीमा रकम दाबी गरिएको भन्दै अनलाइनमार्फत उजुरी दिएपछि प्रहरी अनुसन्धान सुरु भएको थियो।
प्रहरीका अनुसार हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, बीमा कम्पनीका स्थानीय एजेन्ट तथा हेलिकप्टर कम्पनीसँग सम्बन्धित गरी १० जनालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको छ। यस प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रतिष्ठामा असर पर्न सक्ने भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा ५१ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

