नक्कली सुन देखाएर १४ लाख ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं। सुनको बिस्कुट भन्दै नक्कली धातु देखाएर १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका–७ का ३८ वर्षीय विजय लामा मोक्तान उर्फ धनवीर वाइबा पक्राउ परेका हुन्। उनले सुनको बिस्कुट आकारको पहेँलो धातु देखाउँदै बिल नभएको र आफूलाई तत्काल पैसाको खाँचो परेको बहाना बनाई पीडितलाई विश्वासमा पारेका थिए। उक्त धातु सक्कली सुन भएको दाबी गर्दै उनले नगद १४ लाख रुपैयाँ ठगी गरेको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो।
प्रहरीले चैत ९ गते बेलुका करिब ७ बजे टोखा नगरपालिका–९ स्थित शिवमन्दिर नजिकै एक होटलको कोठामा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो। खानतलासीका क्रममा उनको साथबाट ५४७.६९० ग्राम तौलको पहेँलो धातु बरामद गरिएको छ।
त्यसैगरी, प्रहरीले उनको साथबाट एक थान बिल, चेकबुक, राहदानी, तीन थान मोबाइल, सुनको मुन्द्रा र नगद १ हजार २० रुपैयाँ समेत फेला पारेको जनाएको छ।
पक्राउ परेका वाइबामाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटले आवश्यक प्रक्रिया अघि बढाएको छ। प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको छ।

