काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा स्पष्ट बहुमत हासिल गरेसँगै सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। दलले आफ्नो संसदीय दलको नेताको चयन प्रक्रिया सम्पन्न गरी राष्ट्रपतिसमक्ष औपचारिक जानकारी गराउने तयारी गरेको जनाएको छ।
संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेता नै प्रधानमन्त्री नियुक्त हुने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार रास्वपाले संसदीय दलको नेता चयन गरी राष्ट्रपति कार्यालयमा पत्र पठाउने तयारी गरेको हो। उक्त पत्र प्राप्त भएपछि राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।
रास्वपाका सभापति रवि लामिछाने को नेतृत्वमा बसेको बैठकले सरकार गठनका लागि आवश्यक आन्तरिक तयारी पूरा गरेको जनाएको छ। पार्टीभित्र मन्त्रीहरूको सम्भावित सूची, सरकारको प्राथमिकता तथा नीति कार्यक्रमबारे समेत छलफल भइरहेको स्रोतले जनाएको छ।
राष्ट्रपति कार्यालयले भने औपचारिक पत्र प्राप्त भएपछि मात्र प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्ने स्पष्ट पारेको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार “दलबाट आधिकारिक जानकारी प्राप्त भएलगत्तै संवैधानिक प्रावधानअनुसार नियुक्ति गरिनेछ।”
उता, शीतल निवासस्थित राष्ट्रपति भवनमा सम्भावित शपथ ग्रहण समारोहका लागि प्रारम्भिक तयारी समेत सुरु भइसकेको छ। शपथ कार्यक्रममा संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा सुरक्षा निकायका प्रमुखलाई आमन्त्रण गर्ने परम्परा रहेको छ।
यद्यपि, राजनीतिक वृत्तमा सरकार गठनको अन्तिम प्रक्रिया औपचारिक निर्णयपछि मात्र स्पष्ट हुने बताइएको छ। नयाँ सरकार गठनसँगै देशको राजनीतिक स्थायित्व, सुशासन र विकासप्रति जनअपेक्षा अझ बढेको छ।

