सुर्खेत । लोकसेवा तथा अन्य लिखित र अन्तर्वार्ता परीक्षामा उत्तीर्ण गराइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका ७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ मा बस्दै आएका २२ वर्षीय पवन विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी तथा सूचना अधिकारी मोहनजङ्ग बुढथापाका अनुसार मंगलबार दिउँसो साढे १ बजे वीरेन्द्रनगर नगरपालिका–६ बाट उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पवनले विभिन्न व्यक्तिहरूलाई लोकसेवा लगायतका परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिँदै ठूलो रकम असुलेर ठगी गरेको आरोप छ। पीडितहरूको उजुरीपछि उनी फरार रहेका थिए।
लगातार खोजतलासका क्रममा उनलाई वीरेन्द्रनगर क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका पवनमाथि ठगी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीले यस घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको बताएको छ।

