सबैलाई पठाउनु होला

जेठ २१ : अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार बिहीबार राति २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरे।

उक्त घोषणालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बाइडेनको घोषणाको स्वागत गर्दै उनलाई धन्यवाद दिए।

प्रधानमन्त्री ओलीले खोपका लागि आफूहरूले गरेको आग्रह सुनेकोमा अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिँदै नेपाल र नेपाली कृतज्ञ रहेको बताए।

बाइडेनको घोषणालगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले आफूहरूको अनुरोधलाई स्वीकार्दै अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोनाविरूद्धको खोप दिने भएको सामाजिक सञ्जाल ट्वीटर लेखे। बाइडेनको घोषणामा त्यति ठूलो मात्रा नेपाललाई दिने भन्ने उल्लेख नभएपछि उनलाई धेरैले प्रश्न गरे। केहीबेरपछि ढकालले त्यो ट्वीट डिलिट गरे।

ढकालले ट्वीट डिलिट गरेको करिब ८ घन्टापछि शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अमेरिकाबाट अनुदानमा ५० लाख डोज खोप आउन लागेको ट्वीट गरे। उनलाई पनि ५० लाख खोप दिने कसले भनेको हो भनेर प्रश्न सोधिएपछि केहीबेरमा थापाले ट्वीट डिलिट गरेका छन्।

राष्ट्रप्रमुख र सरकार प्रमुखको सचिवालयमा रहेका दुई जनाले अमेरिकाबाट ५० लाख खोप आउन लागेको भन्दै ट्वीट गरेर डिलिट गरेपछि अमेरिकाले कति खोप दिन लागेको भनेर कतिलाई अन्यौल भएको छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अमेरिकाबाट कति खोप आउन लागेको हो भन्ने अहिले नै टुंगो भइनसकेको बताए।

‘हिजो साँझ अमेरिकी राष्ट्रपतिबाट घोषणा भयो। नेपालले कुन खोप, कति डोज, कहिले पाउने हो भन्ने सबै विस्तृत खुलिसकेको छैन,’ शुक्रबार बिहान मन्त्री ज्ञवालीले भने।

अमेरिकी राष्ट्रपति बाइडेनले के घोषणा गरेका थिए?

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार बिहीबार घोषणा भएको २ करोड ५० लाख डोज खोपमध्ये एक करोड ९० लाख डोज कोभ्याक्समार्फत् बाँडिनेछ। कोभ्याक्स विश्वका गरिब तथा अविकसित मुलुकलाई कोरोनाको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलगायत संस्थाहरू मिलेर बनाएको अभियान हो।

उक्त १ करोड ९० लाख डोज खोप तीन क्षेत्रका देशहरूका लागि बाँडिनेछ। जसअनुसार मध्य र दक्षिण अमेरिकी मुलुकहरू ब्राजिल, अर्जेन्टिना, कोलोम्बिया, कोस्टारिका, पेरू, इक्वेडर, पाराग्वे, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, पानमा, हैटी र अरू क्यारेबियन मुलुकहरूलाई ६० लाख डोज बाँडिनेछ।

भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र अन्य प्यासेफिप टापुहरूलाई ७० लाख डोज दिइनेछ।

अफ्रिकन युनियनको सहजीकरणमा झन्डै ५० लाख डोज खोप अफ्रिकी मुलुकहरूबीच बाँडिने ह्वाइटहाउसले जनाएको छ।

बाँकी ६० लाख डोज खोप भने अमेरिकाले प्राथमिकताका आधारमा सोझै ती मुलुक र क्षेत्रहरूलाई दिनेछ। यो ६० लाख डोज खोप सोझै पाउने मुलुकमा नेपालको नाम समावेश छैन। उक्त खोप मेक्सिको, क्यानडा, दक्षिण कोरिया, वेस्ट ब्यांक, युक्रेन, कोसोभो, हैटी, जर्जिया, इजिप्ट, जोर्डन, भारत, इराक र यमनसँगै संयुक्त राष्ट्रसंघका फ्रन्टलाइन कर्मचारीलाई दिइनेछ।

यसरी अमेरिकाले सोझै दिन लागेको खोप भने तत्कालै पठाइहाल्ने तयारी छ। द न्युयोर्क टाइम्सका अनुसार दक्षिण कोरियाले पाउने १० लाख डोज खोप शुक्रबार नै पठाइने छ।

राष्ट्रपति बाइडेनले अघिल्लो महिना कोरोनाविरूद्धको ८ करोड डोज खोप संसारभरिका मुलुकलाई दिने घोषणा गरेका थिए। अहिले अमेरिकाले दिन लागेको फाइजर-बायोएनटेक, मोडेर्ना र जोनसन एन्ड जोनसनको खोप हो। अमेरिकाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप पनि किनेर राखेको छ। तर अमेरिकाकी नियामक निकायले त्यसलाई प्रयोग अनुमति दिइनसकेकाले तत्कालै अमेरिकाले यो खोप अरूलाई दिन्छ कि दिन्न खुलिसकेको छैन।

ह्वाइटहाउसले अब बाँकी ५ करोड ५० लाख खोपमध्ये पनि ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने बाँकी २५ प्रतिशत सोझै पठाउनेछ।

नेपालमा यसअघि भारतमा उत्पादित अष्ट्राजेनेकाको खोप लगाइएको थियो। उक्त खोपको पहिलो डोज लगाएका धेरै जनाले दोस्रो डोज पाएका छैनन्। अमेरिकाले तत्काल अष्ट्राजेनेका खोप दिए उनीहरूले दोस्रो डोज लगाउन पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com