असार २४ गते शुक्रबार : नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा क्रियाशील रहेका नेताहरू आज निर्वाचन आयोग जाने भएका छन्। बुधवार माओवादी केन्द्रको दलीय हैसियत खारेजीको निवेदन आयोगमा दर्ता गराएका उनीहरू पुनः आयोग जान लागेका हुन्।
माओवादी केन्द्रको दलीय हैसियत खारेजीको लागि परेको निवेदन उपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन नेकपा विभाजनपछि एमालेतिर लागेका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन्। नेता मणि थापाले आफूहरू आज बिहान ११ बजे निर्वाचन आयोग गयको जानकारी दिए।
संविधान र कानुन बमोजिम नेकपा माओवादी केन्द्रको दलीय हैसियत कायम हुन नसक्ने भएकाले दल दर्ता खारेजी हुनुपर्छ भन्दै बुधवार रामबहादुर थापा समूहको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए। थापा पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर थारुले माओवादी पार्टीले महाधिवेशन लगायत सम्पूर्ण गतिविधि नगरेकाले अवैधानिक दलले आफूहरूलाई कारबाही गर्न नसक्ने जिकिर गरेका छन्।
माओवादीबाट एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य बादलसहित प्रतिनिधि सभाका चार सदस्यलाई यसअघि कारबाही गरिएको थियो। यस्तै, प्रदेश सभा सदस्य ८ जना र स्थानीय तहका १८ जना जनप्रतिनिधिलाई माओवादीले कारबाही गरेको थियो।

