निरन्तर ३२ वर्षसम्म पार्टीको एकछत्र नेतृत्व गरेका उनले जिम्मेवारी हस्तान्तरण गर्ने गरी भरपर्दो दोस्रो पुस्ता किन बनाउन सकेनन् ? पार्टीको आरोहको जस आफैं लिएर अवरोहको अपजस दिन नेता खोज्ने सुविधा दाहाललाई छैन किनकि पार्टीभित्र उनीसँग बहस गर्ने नेताहरु किनारा लागिसके ।
पार्टीमा सबैका सबै पदका लोभी, सबै पैसाको पछाडि मात्रै कुद्ने रोग देखिएको छ, त्यो रोगबाट प्रचण्ड पनि आजित भएका होलान् । – श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक
कहाँ बेठीक गरें, कस्ता–कस्ता पात्रलाई कस्तो व्यवहार गरें, ती पात्रबाट पार्टीलाई के–कति फाइदा भयो भनेर अध्यक्षले फर्केर हेर्न थाल्नुपर्यो ।– राम कार्की, केन्द्रीय सदस्य, माओवादी केन्द्र काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै आफ्नै पार्टीका नेताहरूप्रति चर्को असन्तुष्टि पोख्न थालेका छन् । सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा एकता बदर गरिदिए ब्युँतिएको पार्टीलाई चुनाव केन्द्रित गरी बलियो बनाउने चाहनालाई अन्य नेताले ‘सहयोग नगरेको’ उनको गुनासो छ । यतिसम्म कि आइतबार भएको एक कार्यक्रममा त दाहालले पार्टीको आकार खुम्चिँदै गएको र दुई–चार वर्षमा एक्लै भइने हो कि भन्ने चिन्ता लाग्न थालेको समेत खुलासा गरे । निकट नेताहरूका अनुसार दाहालको यो अभिव्यक्ति पार्टीका दोस्रो तहका नेताहरूतर्फ लक्षित थियो । यति मात्र होइन, यही असन्तुष्टिका कारण दाहालले सार्वजनिक रूपमै पार्टी विघटन गर्ने चेतावनी दिन थालेका छन् । पार्टी विघटनको अभिव्यक्ति आए पनि दाहालले सजिलै विघटन गर्न नसक्ने ती नेताको बुझाइ छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार नै दाहालले बोलेको बताउँछन् । ‘पार्टी बनाइछाड्छौं, पार्टीलाई फेर्न प्रतिबद्ध छौं भन्ने अर्थमा अध्यक्षले बोल्नुभएको हो,’ उनले भने, ‘हामीले ठीक ढंगले काम गरेनौं, रूपान्तरण गरेनौं भने नेपाली क्रान्ति पछाडि पर्छ । तर, हाम्रो पार्टीले आफूलाई यथास्थितिबाट उठाउनुपर्छ । र, हामी रूपान्तरण गरिछाड्छौं भन्ने अर्थमा बोल्नुभएको हो ।’

