काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लाको वडा अधिवेशन विवादमा परेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी डडेलधुराको वडा अधिवेशनलाई नमान्ने चेतावनी दिएको छ । डडेलधुराका ५२ मध्ये ५० वडामा शुक्रबार अधिवेशन सम्पन्न भएको थियो । जिल्ला सभापति कर्णबहादुर मल्लले उक्त अधिवेशन बहिष्कार गरेपछि विवाद उत्पन्न भएको थियो । नेता पौडेलले पत्रकार सम्मेलन गरी सभापति मल्लको पक्षमा अडान राखेका हुन् । जिल्ला सभापतिको सहमतिबेगर भएको अधिवेशनलाई विधिसम्मत मान्न नसकिने उनको भनाइ छ ।
‘जिल्ला सभापति र कार्यसमितिको सहभागिता र सहमतिलाई निषेध गरी राज्यशक्तिको दुरुपयोग गरेर एकपक्षीय रूपमा गरिएको वडा अधिवेशनबाट लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य–परम्पराको खिल्ली उडाइएको छ,’ उनले भने, ‘यो अमान्य छ, हामी यथाशीघ्र विधि र प्रक्रियाअनुसार नेतृत्व चयनको लागि आग्रह गर्दछौं ।’ सभापतिको गृहजिल्लाबाटै अप्रजातान्त्रिक कदम थालिएपछि आसन्न महाधिवेशनको निष्पक्षतामाथि गम्भीर आशंका उब्जिएको उनले बताए ।
पत्रकार सम्मेलनमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, शेखर कोइराला, गगन थापा, अर्जुननरसिंह केसी, रामशरण महतलगायत उपस्थित थिए । क्रियाशील सदस्यता विवादको कारण २० जिल्लाको अधिवेशन थाती रहेको अवस्थामा पौडेल समूहले डडेलधुराबाटै दबाब बढाएको हो । देउवा र कृष्णप्रसाद सिटौला समूहले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान भइसकेको बताए पनि पौडेल समूहले विवाद कायमै रहेको बताएको छ ।
क्रियाशील सदस्यता छानबिन समितिका सदस्य रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले सबै जिल्लाको सदस्यता विवाद समाधान भइसकेको बताए । ‘विवाद समाधान समितिले निर्णय गरेर सदस्यको नामावली सार्वजनिक गर्नका लागि पठाइसकेको छ,’ उनले भने, ‘केही असन्तुष्टि बाँकी छन्, विस्तारै समाधान होलान् ।’ पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले २० जिल्लाको क्रियाशील सदस्यको सूची अझै टुंगो नलगाइएको र अधिकांश जिल्लामा गम्भीर विवाद उत्पन्न भएको बताए ।
देउवाका प्रतिस्पर्धी पौडेल र विमलेन्द्र निधिको ढाडसले मल्ललाई आड मिलेको छ । निधिले बुधबार देउवालाई पत्र लेखेर डडेलधुराको विवाद सुल्झाउन भनेका थिए । पौडेल समूहले त सोमबार डडेलधुरालाई केन्द्रमा राखेर पत्रकार सम्मेलन गर्यो । ‘अहिलेसम्म डडेलधुरामा केन्द्रमा रहेको देउवाविरोधी समूहको उपस्थिति खासै देखिँदैन,’ सुदूरपश्चिमका वरिष्ठ पत्रकार मनमोहन स्वाँरले भने, ‘अहिलेको विवादले डडेलधुरामा देउवाइतर समूह जन्मिने संभावनालाई नकार्न मिल्दैन ।’
अहिलेसम्म मल्लले देउवा समूहमै रहेर जिल्लामा फरक गुट बनाएका छन् । केन्द्रको देउवाविरोधी कुनै गुटमा खुलेर लागेमा भने उनले गृहजिल्लामै देउवालाई अप्ठेरो पार्न सक्छन् । ‘पार्टीको आसन्न आमनिर्वाचनमा सभापतिका उम्मेदवार देउवालाई मनोवैज्ञानिक रूपमा असर पार्नेमात्र नभई आमनिर्वाचनमा पनि धक्का लाग्न सक्छ,’ डडेलधुराका एक कांग्रेस नेता भन्छन् ।

