काठमाडौँ — ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा सहभागी १० मध्ये सबैभन्दा ‘हाइप्रोफाइल’ टोली हो, शंखमूल फुटसल । यसअघिका दुई राष्ट्रियस्तरको लिग प्रतियोगिता जितको साख जोगाउने चुनौतीसहित शंखमूलले पोखरामा हुने प्रतियोगितामा सहभागिता जनाउँदै छ । काठमाडौं उपत्यका केन्द्रित नेपाली फुटसलमा सबैभन्दा धेरै प्रतियोगितामा सहभागिता जनाएको र सानाठूला धेरै उपाधि जितेको टिम शंखमूल चैतमा सम्पन्न वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनलमा पराजित थियो । कोरोना महामारीका कारण दुईपल्ट मिति परिवर्तन भएर असोज २ देखि हुने राष्ट्रिय लिगलाई शंखमूलले पर्याप्त तयारी समय पाएको छ ।
उनीहरूले बुझेका छन् ‘ए’ डिभिजन लिग घरेलु फुटसलको सबैभन्दा ठूलो प्रतियोगिता हो । शंखमूल फुटसलका सञ्चालक नरेश अवालेका अनुसार यो प्रतियोगितामा राम्रो गर्न नसक्ने हो भने यसअघिको सफलताको कुनै अर्थ रहन्न । समर्थक, प्रायोजक र शुभचिन्तकका लागि यो प्रतिष्ठाको विषय हो ।
‘हामी नियमित प्रशिक्षण गरिरहेका छौं । लकडाउन समयमा पनि भर्चुअल माध्यमबाट सबै खेलाडीलाई ट्रेनिङ प्लानअनुसार फिट राख्ने प्रयास गरेका छौं,’ अवालेले कान्तिपुरसँग भने, ‘हामीले यसअघि थुप्रै प्रतियोगिता जित्यौं । राष्ट्रिय लिग दुईपल्ट जित्यौं । प्रतियोगिता र प्रतिस्पर्धा यति ठूलो आकारमा पुगिसकेको छ कि यो प्रतियोगिता नजित्ने हो भने हामीले यसअघि जितेका कुनै पनि प्रतियोगिताको अर्थ छैन ।’
सन् २०१५ मा शंखमूल फुटसल प्रालिको स्थापना हुनुअघिका तीन वर्ष उनीहरूले ‘लास्ट मिनेट’ नामको टिम बनाएर प्रतियोगिताहरूमा सहभागिता जनाए । शंखमूलले २०७३ सालमा आमा इभेन्ट्सद्वारा आयोजित रेडबुल फुटसल लिग र २०७४ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित रेडबुल राष्ट्रिय फुटसल लिगको उपाधि जितेको थियो । राष्ट्रिय लिगको साबिक विजेता हैसियतले प्रतियोगितामा स्वतः छनोट हुनुपर्ने माग शंखमूलले राखेको थियो । तर, एन्फाले त्यो लिगलाई ‘ए’ डिभिजनको मान्यता दिएन । शंखमूलले त्यसबाहेक ४० भन्दा बढी स्थानीय प्रतियोगितामा सहभागिता जनाएर ३० भन्दा बढी उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित कभर्डहलमा हुने प्रतियोगितामा शंखमूलले असोज ३ मा फुटसल फाइभ धरानसँगको खेलबाट यात्रा सुरु गर्नेछ । असोज २२ सम्म चल्ने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, फिक्सो (डिफेन्डर), पिभोट (स्ट्राइकर), प्रशिक्षक र इामर्जिङ खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । टर्नपाइक इभेन्टको प्रायोजन तथा व्यवस्थापनमा हुने यो प्रतियोगिताका सम्पूर्ण खेल कान्तिपुर टेलिभिजन र ईकान्तिपुर डटकमबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
शंखमूल टोली : खेलाडीमा अनिश श्रेष्ठ, सुसिन डंगोल, युनेश अवाले, हिम सैल जिसी, लक्ष्मण थापामगर, जेनिस प्रजापती, सुसन श्रेष्ठ, सागर थिङ, सुनील गोले, सुरज महर्जन, विवेक पण्डित, मणि लामा, युगेश श्रेष्ठ, कृजल खड्का, अरुज सिंह, सविन खड्का, रोशन केसी छन् । प्रकाश परियार (प्रशिक्षक), प्रमोद सिंह (व्यवस्थापक), माउन्टेन सुब्बा (फिजियो) ।

