काठमाडौँ — लागूऔषध तस्करीमा संलग्न गिरोहले सुन तस्करीकै शैलीमा नेपालबाट विदेशमा चरेस र गाँजा पठाउने गरेको खुलेको छ । वैदेशिक रोजगारीको आवरणमा विपन्नलाई प्रलोभनमा पारेर तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चरेस र गाँजा बोकाएर कतार पठाउने गरेको तथ्य बाहिर आएको हो ।
यसरी भरियालाई चरेस बोकाएर पठाएबापत गिरोहले प्रतिकेजी १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म रकम दिने गरेको अनुसन्धानबाट खुलेको छ । काठमाडौंमा प्रतिकिलो १५ हजार रुपैयाँमा किनेर गन्तव्यसम्म पुर्याउँदा १५ लाख रुपैयाँमा बिक्री गर्ने गरेको पक्राउ परेका आरोपितले प्रहरीलाई बताएका छन् ।
गिरोहबाट रकम पाउने लोभमा तस्करका सहयोगीले आफन्तलाई थाहै नदिई लागूऔषध बोकाएर फसाउने गरेको तथ्य पनि प्रहरी अनुसन्धानमा भेटिएको छ । लागूऔषध नियन्त्रण ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हृदय थापाले लागूऔषध कारोबारका लागि तस्करले अपनाएको यो जुक्ति हालसम्मकै फरक रहेको बताए ।‘वैदेशिक रोजगारीका लागि खाडी देशमा जानेलाई थाहै नदिई औषधि र अचारको बट्टामा त कतिलाई आर्थिक प्रलोभनमा पारेर चरेस पठाउने गरेको भेटियो । पछिल्लो एक महिनामा मात्रै यस्ता तीनवटा केसमा हामीले अनुसन्धान गरिरहेका छौं,’ एसएसपी थापाले कान्तिपुरसँग भने । सामान गन्तव्यसम्म पुर्याएपछि वाट्सएपलगायत सामाजिक सञ्जालबाट सम्पर्क गरी अर्कै व्यक्तिमार्फत सामान बुझ्ने गरेको पाइएको उनले जनाए ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले लागूऔषध तस्करीको यो शैली नयाँ भएको बताए । ‘वैदेशिक रोजगारीबाट फर्किएकालाई आर्थिक प्रलोभनमा पारेर तस्करले सुन बोकाएर पठाउँथे, अहिले नेपालबाट जानेलाई चरेस भिराएर पठाउनुले तस्करीको नयाँ रुट र शैलीको खुलासा भएको छ,’ मल्लले भने ।
नेपालबाट चरेस पठाएबापत गिरोहले पाउने कमिसनबापतको रकम तस्करीको सुनका रूपमा भित्रिएको हुन सक्ने मल्लको आशंका छ । कतारमा चरेस र गाँजा पुर्याउन केन्द्रीय कारागारमा रहेकी कुख्यात लागूऔषध तस्कर काइँली, देवी, कालीमैयालगायत उपनामले चिनिएकी गोपी तामाङ र कतारमा रहेका अर्का तस्कर पूर्णसिंह तामाङको कनेक्सन रहेको हुन सक्ने प्रहरी आशंका छ ।
पूर्णसिंह लागूऔषध कारोबारको सेटिङ मिलाउन कतारमा बस्ने गरेका हालै चरेससहित काठमाडौंबाट पक्राउ परेका एक भरियाले बयान दिएका छन् । त्यसपछि पूर्णसिंह भन्ने व्यक्तिको खोजीका लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले कतार प्रहरीसँग सहयोगका आवश्यक पहल थालेको छ ।
२०७८ भदौ ८ मा चितवन खैरहनीका बुद्धिराज पाठकलाई ब्युरोले विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरेको थियो । ८ सय ग्राम गाँजाको धूलो गोली बनाएर लगेजमा राखिएको फेला परेपछि पाठक समातिएका थिए । बरामद गाँजा मोरङ सुन्दर हरैंचाका कुमार श्रेष्ठले दिएका थिए । पाठकमार्फत गाँजा कतार पुर्याउन चितवन खैरहनीकै विष्णु नेवारले कुमारबाट २ लाख लिएका थिए । नातामा विष्णु बुद्धिराजका जेठान हुन् । तर २ लाख लिएर आफ्नै जेठान बुद्धिराजलाई लागूऔषध बोकाएर कतार पठाउन खोज्दा प्रहरीको फन्दामा परे । अनुसन्धान गर्दै जाँदा कुमारलाई पनि ब्युरोले पक्राउ गरिसकेको छ ।
भदौ ८ मै काठमाडौंबाट वैदेशिक रोजगारीका लागि कतार पुगेकी धादिङ नीलकण्ठकी गीता थापामगर दोहाबाट पक्राउ परिन् । गीतालाई एक अपरिचित महिलाले काठमाडौंबाट चरेस बोकाएर पठाएको आशंका ब्युरोका अनुसन्धान अधिकारीको छ । घटनाबारे कतार प्रहरीबाट जानकारी लिने तयारी भइरहेको ब्युरो प्रमुख थापाले बताए । त्यस्तै, भदौ २१ मा म्याग्दीका श्यामप्रसाद रोक्का र वीरबहादुर रोक्का ४ केजी ३५ ग्राम चरेससहित काठमाडौंबाट पक्राउ परे । कतार जाने क्रममा रहेका उनीहरूको लगेजमा चरेस भेटिएपछि विमानस्थलबाटै पक्राउ परेका हुन् ।
धादिङका सुनबहादुर गुरुङ, अनिलबहादुर घले र जितबहादुर तामाङले कतार जाने मान्छे खोज्ने क्रममा उनीहरूलाई भेटेका थिए । यसका मुख्य योजनाकार माइला भन्ने कृष्णबहादुर तामाङ हुन् । उनी पनि भदौ २१ मा पक्राउ परिसकेका छन् । ब्युरोलाई कृष्णबहादुरले कतार जेलमा रहेका पूर्णसिंह तामाङको योजनामा चरेस पठाउन लागिएको बयान दिएका छन् । कृष्णबहादुरले ब्युरोलाई दिएको बयानअनुसार हाल केन्द्रीय कारागारमा रहेकी गोपी तामाङ र कतारमा रहेका पूर्णसिंह तामाङ पहिलेका साझेदार हुन् । दुवै जनाले जेलबाटै सहयोगीमार्फत चरेस तस्करीको धन्दा चलाएको हुन सक्ने प्रहरी आशंका छ ।
काठमाडौंबाटै ब्युरोले कतार र युरोपका विभिन्न मुलुकमा चरेस पठाउन लागेका दुई जनालाई पक्राउ गरेको छ । ह्यान्डी क्राफ्टका सामानमा चरेस राख्ने कारखानामै छापा मारेर ब्युरोले सेसे भन्ने उर्पा तामाङ र वीरबहादुर तामाङलाई ३ केजी ५ सय ७९ ग्राम चरेसहित पक्राउ गरेको हो । २०५४ सालमा हेरोइनसहित पक्राउ परेका उर्पा १९ वर्ष जेल बसेर ५ वर्षअघि मात्रै छुटेका थिए । उनले वीरबहादुर तामाङ र भारतीय नागरिकसहितको गिरोहलाई साझेदार बनाएका छन् ।
उर्पा जेलबाट छुटेपछि हङकङ, कतारलगायत मुलुकमा करिब ७० केजी चरेस पठाइसकेको देखिएको एसएसपी थापाको दाबी छ । पछिल्लो पटक नेपाल र भारतबाट चरेस तस्करीको सेटिङ मिलाउने नरमान तामाङको ६ महिनाअघि हङकङमा मृत्यु भइसकेको छ । नरमान नेपालमा रहेका उर्पा र वीरबहादुरले पठाएको चरेस तेस्रो पक्षसँग पुर्याउने व्यक्ति हुन् ।
चरेस पठाउन काठमाडौंबाट भारतको कोलकाता हुँदै समुद्रीमार्ग, काठमाडौंबाट हङकङ हुँदै टर्कीलगायत युरोपका मुलुक र काठमाडौंबाट सीधा उडानबाट कतार गरी तीनवटा रुट प्रयोग हुने गरेको पनि पछिल्लो अनुसन्धानबाट खुलेको छ । स्रोतका अनुसार हङकङबाट चरेस तेस्रो देश पठाउन अझै दुई भारतीय र एक नेपाली सक्रिय छन् । उनीहरूको पहिचान भइसकेको प्रहरीको दाबी छ ।

