सबैलाई पठाउनु होला

काठमाडौँ — स्वतन्त्र सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षका सांसदहरूले गरिरहेको अवरोधलाई लिएर आपत्ति जनाएका छन् । एमालेका कारण सांसदहरूको नैसर्गिक अधिकार हनन भएको पनि देवकोटाले बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा एमालेको अवरोधका बीच सांसद देवकोटाले नियमापत्ति जनाउँदै भने, ‘संसद्‍मा बोल्न पाउनु सांसदहरूको नैसर्गिक अधिकार हो । हाम्रो मुख थुनिएको छ । एक महिनादेखि हामीलाई बोल्न दिइएको छैन । सांसदको मानवअधिकार हनन भएको छ ।’

एमालेका सांसदहरूले लोकतान्त्रिक मूल्य र मान्यतामा आँच पुर्‍याउने काम भएको पनि सांसद देवकोटाले बताए ।उनले एमालेका सांसदहरूले सदनमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध बोलेका कुराहरूलाई राष्ट्रिय सभाको रेकर्डबाट हटाउन पनि माग गरेका थिए ।

‘प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रिय सभाको खाँबो चिथोर्न मिल्छ ?,’ उनले प्रश्न गरे ।

संसद्का दुवै सदनका नियमावलीले सभामुख र अध्यक्षप्रति ती शब्द प्रयोग गर्नबाट सांसदहरूलाई बन्देज लगाएको पनि सांसद देवकोटाले उल्लेख गरे ।त्यस्तै, संविधानको धारा १०५ अनुसार अदालतमा विचाराधीन मुद्दामा कुनै पनि सदनमा कुरा उठाउन नपाइने कुरा पनि उनले उठाएका थिए । एमाले सांसदहरूले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसद् अवरोध गरिरहेको उनको भनाइ थियो ।

सभामुख सांसदका अभिभावक पनि भएको र सरिता गिरी, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतको र तत्कालीन एमालेका १४ सांसदको कारबाही फरक भएको पनि सांसद देवकोटाले तर्क गरे । ‘वैशाखमा ह्वीप उल्लंघन हुने कारबाही भदौमा गर्ने ? यस अवधिमा त वाग्मतीमा धेरै पानी बगिसकेको छ । वैशाख २७ गते ह्वीप उल्लंघन गर्ने सांसद त २८ जना थिए,’ उनले भने ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने सांसद देवकोटाको नियमापत्ति खारेज गरिदिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com