सबैलाई पठाउनु होला

काठमाडौं- रुपन्देहीको भैरहवामा अवस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । थाइल्याण्डबाट एरो थाईको विमान यान्त्रिक परीक्षण उडानका लागि बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगिसकेको छ ।

परीक्षण उडान आज बिहान १० बजेदेखि सुरु हुने छ । परीक्षण उडानको क्रममा अन्य उडानहरु प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।

एरो थाईको बिमानद्वारा १० दिनसम्म लगातार प्राविधिक परीक्षण उडान गरेपछि नेपाल वायु सेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । त्यसपश्चात व्यवसायिक उडानको तयारी सुरु हुने छ । आगामी बुद्ध पूर्णिमा (२ जेठ) देखि सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलको प्राविधिक परीक्षण गर्न चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । बिहीबार साँझ नै उक्त टोली भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको हो । टोलीले विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणको सही ढंगले काम गरे-नगरेको कुराहरुको जाँच गर्ने छ ।

एडीबीको सहयोगमा निर्माण सम्पन्न गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।

आन्तरिक उडान मात्र हुँदै आएको भैरहवा विमानस्थललाई नै अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा बिकसित गर्ने कामको सुरुआत सन् २०१४ को जनवरीदेखि भएको थियो ।

सन् २०१७ डिसेम्बरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएतापनि भूकम्प, ठेकेदारको ढिलासुस्ती, कोरोना महामारी लगायतका कारण ढिला सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com