काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले आत्म सम्मान र स्वतन्त्रताका साथ बाँच्न पाइरहेको बताएका छन्। सोही राजनीतिक क्रान्तिबाट प्राप्त सफलताले मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी शासन प्रणाली स्थापना हुन सकेको उनले उल्लेख गरेका छन्।
“वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ। राजनीतिक रूपमा मुलुकले ठूलो फड्को मारेको छ। यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२/६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ,” राष्ट्रिय लोकतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा भनिएकोछ।
जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा आजको दिन इतिहासमा स्मरणीय रहेको उनले उल्लेख गरेका छन्।
मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन गरेसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसका लागि सबैजना लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औँल्याएका छन्।

