काठमान्डौ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्ने विषयलाई लिएर गठबन्धन नरहने अवस्था आए पनि सरकारले आफ्नो कर्तव्य पूरा गर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले अब एमसीसी सम्झौता प्रक्रियामा जाने बताए। “गठबन्धन रहन्छ/रहँदैन भन्ने बिषयलाई ध्यान दिएर होइन, आफ्नो कर्तव्य पूरा गर्ने हो,” महामन्त्री थापाले भने, “सरकारले एमसीसी सम्झौता संसद्भित्र प्रस्तुत गर्ने एउटा कर्तव्य पूरा गर्दैगर्दा त्यसको परिणाममा (गठबन्धन) रहेन भने रहेन। हामी त्यस्तो अवस्था नआवस् भन्ने चाहन्छौं।”
अहिले एमसीसी सम्झौता संसद्मा टेबल भएको र अब पारित गर्ने प्रक्रिया अघि बढ्ने उनको भनाइ थियो। “हामीले आफ्नो एमसीसी पारित गर्ने काम कर्तव्य पूरा गर्ने हो। त्यसको परिणाममा गठबन्धन रहेन भने रहेन,” महामन्त्री थापाले भने।
एमसीसीका विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरूले अब दोहोरो भूमिका त्याग्नुपर्ने उनको भनाइ थियो। “सरकारमा पनि बस्ने, सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने कुरा राजनीतिक नैतिकताको प्रश्न होला,” महामन्त्री थापाले भने, “अब सबैले दोहोरो भूमिका छाड्नुपर्छ। पक्षमा हो भने पक्षमा हो, विपक्षमा हो भने विपक्षमा हो।”
एमसीसी सम्झौता परिमार्जन गर्ने विषयमा पनि संसद्मा छलफल गर्न सकिने उनको भनाइ थियो। “परिमार्जनका विषयमा दुईटा विकल्प छलफलमा ल्याइरहेका छौं। एउटा ब्याख्यात्मक घोषणाको माध्यम छ। त्यो माध्यमलाई पनि संसद्ले लिएर जान सक्छ। अर्को संकल्प प्रस्तावको अर्को माध्यम छ।,” उनले भने, “कांग्रेस सबै विकल्पमा कुराकानी गर्न खुल्ला छ।”
यस विषयमा १२ फागुनदेखि छलफल हुने उनले बताए। आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सांसदले छलफलमा भाग लिएकाले यसैगरी छलफल अगाडि बढ्ने उनलको भनाइ थियो।
एमसीसी सम्झौता पारित हुने दिनसम्म पुग्दा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले)ले पनि यसको पक्षमा मतदान गर्ने उनको विश्वास थियो। “यो छलफल भएर पास हुने दिनसम्म पुग्दा आज टेलब गर्ने ठाउँसम्म आइपुगेका साथीहरू त्यो वेलामा मतदान गर्ने ठाउँमा आइपुग्नुहुन्छ,” थापाले भने।
एमाले र माओवादी केन्द्रका सांसदको नाराबाजीबीच एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ। अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता प्रस्ताव संघिय संसद प्रतिनिधि सभामा टेबल गरेका हुन्।

