बिराटनगर- प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने भएको छ। फागुन १५ गतेदेखि बैठक सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
सो दिनको दिउँसो १ बजे देखि बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ।
प्रदेश १ सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि ‘बिजनेश’ नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो। अबको नियमति बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ।
गत मंसिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गर्नुभएको थियो।

