सबैलाई पठाउनु होला

काठमाडौं – सरकारले ग्याल्बो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

फागुन १६ गते सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

ग्याल्बो ल्होसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु-फो-ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्रीले नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यहाँ हरेक जातजातिका आ-आफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सोअनुसार महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

यस्तै बिभिन्न ब्यक्ति र पार्टीको तर्फबाट पनि ग्याल्बो ल्होसारको उपलक्षमा शुभकामना सन्देशहरु प्रेषित भएका छन्।

यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रको तर्फबाट शुभकामना दिंदै पार्टी अध्यक्ष प्रचणडले आफ्नो सन्देशमा भनेका छन्, – “नेपाली बौद्धमार्गी तथा हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

सन्देश पत्रमा प्रचण्डले भनेका छन्, “देशका बिभिन्न समुदायका आ-आफ्ना मौलिक सांस्कृतिक पहिचान छन्। समुदायहरुको मौलिक पहिचान देशका अमुल्य सम्पत्ति हुन्। हिमाली भेगमा बसोवास गर्ने शेर्पा समुदायको पनि यो आफ्नो बेग्लै सांस्कृतिक पर्व हो। नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट नै नागरिकले आफ्ना जातिय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएका छन्।”

प्रचण्डले सन्देशमा थपेका छन्, “बलिदानबाट प्राप्त यिनै उपलब्धीको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधिन अर्थतन्त्रको निर्माण गरी समृध्दिको यात्रा तर्फ अघि बढ्नु पर्ने अहिलेको आवश्यकता हो। यसबाट मात्र सम्बिधानले ब्यबस्था गरेको समाजवादी लक्ष्य हासिल गर्न सकिन्छ। पराधिन र परनिर्भर अर्थतन्त्रले कुनैपनि देशको समृद्धि भएको बिश्व इतिहास छैन।”

पत्रको अन्तमा भनेका छन्, “तसर्थ यस पर्वको अवसरमा सेर्पा लगायत सम्पूर्ण नेपाली जनसमुदायमा राष्ट्रिय स्वाधिनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन सहित सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।”

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवाली)को तर्फबाट पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि आफ्नो सन्देशमा भने, – “हिमाली आदिवासी शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होसार तथा नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोको उपलक्ष्यमा शेर्पा समुदाय सहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com