भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सोझै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग वार्ता गर्न आग्रह गरेको समाचार एक सरकारी स्रोतलाई उद्धृत गर्दै रोएटर्स समाचारसंस्थाले प्रकाशित गरेको छ।
“राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीलाई युक्रेनी र रुसी टोलीबीच भएका वार्ताहरूको अवस्थाबारे जानकारी दिए,” ती स्रोतले भने।
तर यसबारे औपचारिक विज्ञप्ति आउनुअघि ती स्रोतले आफ्नो नाम उल्लेख गर्न मानेनन्।
रुसद्वारा प्रस्तावित निकास मार्ग ‘अस्वीकार्य‘: युक्रेन
युक्रेनका उपप्रधानमन्त्री इर्यीना भेरेश्चुकले रुसले प्रस्ताव गरेका छवटा “मानवीय करिडर” आफ्ना लागि अस्वीकार्य भएको बताएकी छन्।
रुसले प्रस्ताव गरेका छवटा सहरमध्ये मारिऊपोल र सुमीमा मात्र रुसका अरू स्थान जान सकने मार्गहरू छन्। अन्यत्रका मार्गहरू रुस वा बेलारुस जान्छन्। यो युद्धमा बेलारुसले मस्कोलाई साथ दिएको छ।
“मानवीय करिडर खोल्ने यो अस्वीकार्य तरिका हो,” भेरेश्चुकले भनिन्।
“हाम्रा नागरिकहरू विमानबाट अन्ततः रुस लगिनका लागि किएभबाट बेलारुस जाँदैनन्।”
आइतवार राति रुसले स्थानीय समयानुसार सोमवार बिहान १० बजेदेखि अस्थायी युद्धविराम गर्ने भन्दै एउटा पत्र पठाएको थियो।
युक्रेनले ती मार्गबारे आफ्नो सर्तसहित प्रत्युत्तर दियो – विशेषगरी मानिसहरूलाई रुसबाट टाढा पश्चिमी युक्रेनतिर जान दिने बाटो खोलिदिनुपर्ने भन्दै।
युक्रेनी उपप्रधानमन्त्रीले अमेरिका, यूके र फ्रान्सलाई ती मार्ग स्थापना गर्न सघाउन आग्रह गरेकी छन्।
युक्रेनी राष्ट्रपतिका एक प्रवक्ताले युक्रेनी नागरिकलाई युक्रेनी भूमिबाटै अन्यत्र जान दिइनुपर्ने बताएका छन्।
मारिऊपोलको निकास मार्गमा विस्फोटक पदार्थ राखिएको थियो: रेड क्रस
इन्टरन्याश्नल कमिटी अफ रेड क्रस (आईसीआरसी) का एक निर्देशक डोमिनिक स्टिलहार्ट कार्यक्रम ‘टुडे’सँग कुरा गर्दै युक्रेनको मारिऊपोलबाट मानिसहरूले अन्यत्र जान प्रयोग गर्न सक्ने सहमति भएको बाटोमा विस्फोटक पदार्थ राखिएको थाहा भएको बताएका छन्।
कथित ‘मानवीय कोरिडोर’हरू सञ्चालनमा नआउनुको कारणबारे सोध्दा उनले आफूहरू ‘केही दिन’देखि रुस र युक्रेन दुवै पक्षसँग छलफल गरिरहेको बताए। तर युद्धविराम सम्झौताबारे विवरण पुष्टि गर्न बाँकी रहेकाले सर्वसाधारण युक्रेनीलाई आक्रमण भएका सहरहरूबाट निकाल्ने अनुमति दिन समस्या भएको बताए।
स्टिलहार्टले दुबै पक्षलाई “निश्चित, व्यावहारिक र सटीक” सम्झौतामा ल्याउनु चुनौतीपूर्ण भएको बताए।
उनले त्यहाँ हालसम्म “सैद्धान्तिक” सम्झौताहरू मात्र भएको र ती धेरै बेर नटिकेको सुनाए। उनका अनुसार ती सम्झौताहरूमा सटीकता, मार्गहरूको जानकारी र त्यसलाई कसले प्रयोग गर्न सक्छन् भन्ने कुरा स्पष्ट थिएन।
उनले आईसीआरसीका केही कर्मचारी आइतवार मारिऊपोलबाट निस्किनका लागि सम्झौता गरिएको मार्गबाट बाहिर आउने प्रयास गरेको सुनाए। तर तत्काल “निर्धारण गरिएकोमार्गमा विस्फोटक पदार्थ राखिएको थाहा भयो।”
“त्यसैले दुई पक्षबीच स्पष्ट सम्झौता हुनु महत्त्वपूर्ण छ। त्यसपछि हामी आवश्यक ठाउँमा सहजीकरण गर्न सक्षम हुन्छौँ।“

