मधेश- वीरगञ्जदेखि सप्तरीसम्म सञ्चालनका लागि भनि मधेश सरकारले गत वर्ष पाँच वटा बस खरीद गरेको थियो। अहिले आएर बस सञ्चालन नगर्ने निर्णय गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले खरीद गरिएका बसलाई आफैंले नचलाउने र विभिन्न संघसंस्थालाई दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले बताए। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा, कृषि विश्वविद्यालय, धनुषाको कृषि तालीम केन्द्र र प्रदेश प्रशिक्षण केन्द्रलाई एक-एक वटा बस दिने निर्णय भएको छ।
प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा प्रदेश परिवहन स्थापना गर्न बस खरीद गरेको थियो। तर, बस सञ्चालन गर्दा निकै खर्च हुने र कर्मचारीको समेत व्यवस्था गर्नुपर्ने भएकाले आफैंले नचलाउने निर्णय गरेको मन्त्री साहले बताए।
गत वर्ष तत्कालीन मन्त्री जितेन्द्र सोनलले जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने भन्दै २०७७ सालको धनतेरस पर्वका दिन तीन करोड नौ लाख ८२ हजारमा पाँच बस ल्याएका थिए। पाँच बसको भुक्तानी गत वर्षको पुसमै गरिसकेको छ। त्यसयता पाँचै बस जनकपुर चुरोट कारखानामा थन्किएका थिए।
बसलाई जनकपुरधाम-वीरगञ्ज, जनकपुरधाम-राजविराज रुटमा सञ्चालन गर्ने योजना भएपनि बसहरु त्यत्तिकै थन्काएर राखिएको थियो।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले लाहानमा रहेको यातायात व्यवस्था कार्यालयको सेवालाई विस्तार गरेर राजविराजमा समेत खोल्ने निर्णय गरेको छ। यससँगै युवा स्वरोजगार उद्योग कार्यक्रमको कार्यविधिलाई स्वीकृति दिएको छ।

