सबैलाई पठाउनु होला

काठमाडौं – निर्वाचन कार्यालयद्वारा स्थानीय चुनावको घोषणा लगत्तै स्वतन्त्र उम्मेदवार बन्ने लहर समेत बढेर गएको छ । देशका बिभिन्न गाउँपालिका र नगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवारी दिने घोषणा बिभिन्न ठाउँका मानिसहरुले गरेका छन् ।

यसै क्रममा काठ्माण्डौं महानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारीको घोषणा भएको छ । र्‍याप गीत मन पराउने युवा पुस्तामाझ चिनिएका बालेन शाह काठमाडौं महानगरको मेयरमा उठ्ने घोषणा गरेपछि सामाजिक सञ्जालमा चर्चामा छन् ।

सरकारले वैशाख ३० गते स्थानीय चुनाव गर्ने निर्णय गरेलगत्तै उनले कुनै पनि दलको समर्थन नलिई स्वतन्त्र रुपमा काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेका थिए ।

भारतबाट इन्जिनियरिङ पढाइ सकाएका बालेन काठमाडौंको विकास भए पनि व्यवस्थित नभएकाले मेयर जितेर व्यवस्थित शहर बनाउने बताउँछन् । ‘काठमाडौंको मुख्य समस्या भनेको अव्यवस्थित शहर हो, ट्राफिक जाम र प्रदूषण नियन्त्रण गरेर व्यवस्थापन गर्ने हो भने काठमाडौंमा धेरै सुधार हुन्छ’, बालेन भन्छन्, ‘काठमाडौंलाई रैथाने सामग्रीहरु नै प्रयोग गरेर उत्कृष्ट शहर बनाउन सकिन्छ ।’

त्यो बाहेक भक्तपुर नगरपालिकाको जस्तो शिक्षा प्रणाली, डिजिटल कर प्रणाली, कर तिर्ने नागरिकलाई बीमालगायतका उनका एजेन्डा छन् । बालेनले आफू मेयर भए नेपालमै पहिलोपटक ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने बताए ।

यसअघिकै स्थानीय तहको चुनावमा उठ्न चाहे पनि पढाइका कारण इच्छा मारेको बताउने बालेनको चुनावी अभियान केही दिनमा सुरु हुने छ ।

 

लेखक तथा साहित्यकार गनेस पौडेल पनि उसैगरी चर्चामा छन् । स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन माग गर्दै पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका उनले आफैंलाई ‘अटेरी’ नाम दिएका छन् ।

पोखरा महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका पौडेल आफू कुनै दलको झोला नबोकी जनतामाझ जाने स्पष्ट पारे । ‘जीत वा हारभन्दा पर पनि एउटा लडाइँ हुन्छ । दशकौंको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ म त्यो लडाइँमा जाँदैछु, यसपटक अटेर गर्दैछु’, अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘लोकतन्त्र बनाउन स्थानीय तहको निर्वाचन गैरदलीय बनाउनुपर्छ भन्ने नै मेरो एजेण्डा हो त्यसकारण म कुनै दलको उम्मेद्वार हुन्न । कसैले मलाई समर्थन गर्छ भने फरक कुरा हो तर दलको चुनाव चिह्न लिएर उठ्दिनँ ।’

पौडेलले पोखरा महानगरमा मेयर भए आफूले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, लैंगिक सुरक्षा र शहरी सौन्दर्यर्तालाई प्राथमिकता दिने योजना बनाएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि राजनीतिक दलहरु गाउँ पसिसकेका छन् । ठूला दलले धमाधम पार्टी प्रवेश गराउने र विभिन्न अभियान चलाउने गरिरहेका छन् । बालेन र गनेश जस्ता केही युवाले भने दलको समर्थनविना नै चुनाव लड्ने तयारी गरिरहेका छन् ।


यसअघि विवेकशील साझा पार्टी सुदूरपश्चिम प्रदेश संयोजक रहेका गोपाल हमालले दल त्याग्दै धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । उनी यसअघि पनि स्वतन्त्रबाटै मेयरमा लडेका थिए । तर कांग्रेसका नृपबहादुर वडभन्दा पछि परे । यो पटक स्वतन्त्र रुपमा उठ्न लागेका उनले चुनावी तयारी सुरु गरिसकेका छन् ।

 

तर बाँकेको कोेहलपुर नगरपालिकाका देवानन्द अर्यालले भने घरदैलो अभियान नै थालिसकेका छन् । कोहलपुरमै पाँचतारे होटल र बर्दियामा रिसोर्ट सञ्चालन गरिरहेका अर्यालले पार्टी प्रवृत्तीको सिन्डिकेट तोड्न कोहलपुरको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । ‘हामी गैरदलीय स्थानीय तहको निर्वाचन बनाउने अभियानमै छौं । स्वतन्त्र नै लडेर म कोहलपुर नगरपालिकामा केही गर्नसक्छु कि भनेर लागिरहेको छु’, अर्याल भन्छन्, ‘राजनीतिक परिवर्तनको लागि मात्रै आन्दोलन भएता पनि अब सामाजिक र आर्थिक विकास आवश्यक छ ।’ वैदेशिक रोजगारीको सिलसिलामा अर्यालले आठ वर्ष कोरिया बसेर आएपछि नेपालमा होटल तथा पर्यटन व्यवसाय सुरु गरेका थिए ।

कोहलपुर ११ मा आफैले सञ्चालन गरिरहेको हाम्रो बजारमा उम्मेदवारी घोषणा गरेका अर्यालले आफ्नो उम्मेदवारी कुनै पार्टी र कुनै व्यक्तिका विरुद्ध नभइ एक सचेत नेपाली नागरिकका हैसियतले आफूले मेयरमा उम्मेदवारी दिएको जानकारी दिए । उनका अनुसार कोहलपुरलाई आगामी पाँच वर्षमा विकासमा कार्यापलट गर्नको लागि उम्मेदवारी घोषणा भएको हो । २०३९ सालदेखि कोहलपुरमा बसोबास गर्दै आएका अर्याल विकासवादी व्यवसायी मानिन्छन् ।

 

महिला समेत अघि सरे

महिलाहरुले समेत नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित गर्ने भन्दै पर्वतारोही माया गुरुङले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिकाको अध्यक्षको उम्मेदवारी घोषणा गरेकी छन् । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन उम्मेद्वारी घोषणा गरेकी उनी भन्छिन् ‘महिलाहरु आर्थिक, सामाजिक र राजनीतिक रुपमा सक्षम हुनुपर्छ, महिलालाई कोटामा मात्र सीमित गर्न हुँदैन भनेर मैले उम्मेद्वारी दिन लागेको हुँ ।’

 

बाग्लुङ नगरपालिकाकी नितु खड्काले मेयरको उम्मेद्वारी घोषणा गरिसकेकी छिन् । रजिष्टर नर्स रहेकी खड्काले नगरपालिकालाई युवा उम्मेद्वारले हाँक्न सक्ने भन्दै मेयरको उम्मेद्वारी घोषणा गरेको दाबी गरेकी छन् ।

‘विवाह गर्ने उमेरकी एउटी छोरी आफ्नो सपना छाडेर समाज विकासको सपनासँग जोडिनु अरु छोरीहरुका लागि हिम्मत हो । कुनै दलको झण्डा नबोकी स्वतन्त्ररुपमा मेयरमा उठेकी छु,’ मंगलबार साँझ काठमाडौँको राइजिङ मलमा भेटिएकी ३० वर्षीया नितु खड्काले भनिन्, ‘युवाले चाहे परिवर्तन सम्भव छ ।’ अस्पतालमा बिरामीको सेवा गर्दै गर्दा नितुले देखेकी छन् आम मानिसका पीडा ।

उनको गाउँमा उनकी आमाले कथाजसरी सुनाएको पानीको दुःख आज पनि उस्तै छ । उनलाई बाग्लुङ नगरपालिकाको मेयर बनेर नगरलाई स्मार्ट सिटी बनाउनु छैन । भन्छिन्, ‘कम्तीमा आमाहरुले पानीका लागि एक बिहान खर्लप्पै छुट्याउनु नपरोस् । गाउँसम्म पुग्ने मोटर बाटो होस् । आफ्नै ठाउँमा नागरिकले स्वास्थ्य उपचार पाउन सकून् ।’ आफ्नो ठाउँको विकासका लागि आफैँ नतातेसम्म नहुने उनको अनुभव छ ।

 

यस्तै काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा पनि सुमित पोखरेलले मेयरको उम्मेद्वारी घोषणा गरेका छन् ।

खानेपानी उपभोक्ता समिति र विद्यालय व्यवस्थापन समितिको अध्यक्षमासमेत दलीय आधारमा चुनाव लड्ने संस्कार बसिसकेको नेपाली समाजमा स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा गर्न जति सहज छ, जित्न त्यति नै असहज तर असम्भव छैन।

२०७४ सालको चुनावमा पनि ६ वटा स्थानीय तहमा प्रमुख, ५ वटामा उपप्रमुख, ९१ जना वडाध्यक्ष सहित १ सय ३१ जना वडा सदस्यमा स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए । उनीहरु मध्ये अधिकांश दलले टिकट नदिएपछि ‘बागी’ बनेका दलका कार्यकर्ता नै थिए । तर अहिले दललाई चुनौती दिंदै दलको सदस्यता नै नलिएका कलाकार, साहित्यकारदेखि व्यवसायीसम्मले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com