धनकुटा : जिल्लाका चारवटा पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले सोमबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् । स्थानीय तहको निर्वाचनमा धनकुटाका लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरु मोर्चाबन्दी गरेर अघि बढ्ने भएका छन् । केन्द्रमा गठबन्धन सहमति नभएपनि आफूहरु जिल्लामा गठबन्धन गरेर चुनावी मैदानमा उत्रने उनको भनाइ छ । सैद्धान्तिक सहमति जुटिसकेको र प्राविधिक सहमतिपछि उम्मेद्वारको टुंगो लगाउने गठबन्धनभित्रको कांग्रेसका जिल्ला सभापति दिनेश राईले बताए । ‘केन्द्रमा गठबन्धनको सहमति नभएको खण्डमा पनि जिल्लामा हाम्रो गठबन्धन टुट्ने छैन’, उनले भने, ‘यस्तो अवस्थामा केन्द्रले हस्तक्षेप गर्दैन भन्ने हाम्रो विश्वास छ ।’
एमाले विरुद्ध गठबन्धनको उम्मेद्वारी जरुरी रहेको उनीहरुको भनाइ थियो । पत्रकार सम्मेलनमा कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का संयोजक डिल्लीराम राई, नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका अध्यक्ष बलबहादुर राई सहभागी थिए ।

