मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने योजनासाथ खानेपानी मन्त्रालयले काम गरिरहेको छ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले स्वच्छ र शुद्ध खानेपानीको आमनागरिकलाई पुर्याउन सरकारले पानीको स्रोत संरक्षणको नीति लिएको बताए ।
ताप्लेजुङको श्रीजंगा गाउँपालिकास्थित–३ मा रहेको हाप्पु खोलाखानेपानी आयोजनाको स्किम नं १, २ र तीनको बुधबार उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले एक घर एक धाराको नीतिलाई अघि सारेको पनि बताए ।
हाम्रा सम्बाददाताले सोधेको प्रश्नको उत्तर दिंदै खानेपानी मन्त्री उमाकान्त चौधारीले भने, ‘काठमाडौंबासीलाई मेरै कार्यकालमा मेलम्चीको पानी खुवाउँछु’
अस्थायी रूपमा संरचना निर्माण गरेर मन्त्रालयले मेलम्चीको पानी काठमाडौं ल्याउन काम गरिरहेको हो। मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले हेडवर्क्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।
गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तका अनुसार सुरूङको गेट नम्बर १, ९ र ३८ सफा भइरहेको छ।
यस्तै, अम्बाथान अडिटमा जम्मा भएको थेग्रिनी सफा गर्ने काम भइरहेको उनले बताए।
मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी मोटरेबल पुल निर्माण भएका छन्।
‘अहिलेलाई सबै संरचना अस्थायी बनाएर पहिलेको जस्तै गरी खानेपानी काठमाडौं ल्याउने तयारी हो,’ पन्तले भने।
उनका अनुसार चैतमा पानी ल्याउन कफरड्याम पनि अस्थायी नै बनाइने छ। अहिले कफरड्यामको काम भने सुरू भइनसकेको पन्तले बताए।
मेलम्ची क्षेत्रमा प्रवेश गर्ने बाटो र तीन वटा स्थायी पुल बनाउने जिम्मा सडक विभागलाई दिइएको छ।
चुनाव नजिकिएका कारण मेलम्चीको पानी अस्थायी रूपमा भए पनि काठमाडौं झार्नैपर्ने दबाबमा सरकार छ।
हेडवर्क्स वरपर ठूलो मात्रामा थेग्रिनी छ। थेग्रिनी सफा गर्ने क्रममा ठूला-ठूला चट्टान फेला परेका छन्।
ती चट्टान विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउँदै हटाउने काम भइरहेको छ।
पन्तका अनुसार थेग्रिनी दसदेखि पन्ध्र मिटरसम्म छ, सँगै ठूला ढुंगा फेला परिरहेका छन्।
गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो। बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो।
गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो।
सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।
मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिनी छ। त्यो थेग्रिनी वर्षाका क्रममा बगिरहने भएकाले नियन्त्रणको दीर्घकालीन उपाय खोज्नुपर्ने भएको छ।
मेलम्चीको माथिल्लो भागको भौगर्भिक अध्ययन गर्न विज्ञ टोली खटिएको थियो। एसियाली विकास बैंकको समन्वयमा टोलीले भौगर्भिक अध्ययन गरिसकेको छ।

