सबैलाई पठाउनु होला

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशलतालाई नेपालको विकास र आर्थिक रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले विश्वभर छरिएर बसेका नेपालीको असङ्गठित पुँजी र प्रविधिलाई सङ्गठित बनाउन आवश्यक रहेको बताए।

प्रधानमन्त्री देउवाले भने, “विश्वभर छरिएर बसेका नेपालीको असङ्गठित पुँजी र प्राविधिक ज्ञानलाई सङ्गठित र एकत्रित गरी मुलुकको आर्थिक विकासमा परिचालन गर्न अब गैरआवासीय नेपाली संघले निश्चित कार्ययोजना र रणनीति नै बनाएर अघि बढ्न आवश्यक छ भन्ने मलाई लागेको छ।”

प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको समृद्धि र नवनिर्माणको खातिर उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानूनी सुधार गरी सहजीकरण गर्दै आइरहेको उल्लेख गरे। उनले यसलाई आगामी दिनमा पनि क्रमशः सुधार गर्दै गैरआवासीय नेपालीले सहजरूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गरिने विश्वास दिलाए।

प्रधानमन्त्री देउवाले भने, “गैरआवासीय नेपालीको लगानीलाई मुलुकको समृद्धिका खातिर लगानीको सहज वातावरण बनाउन सरकारले नीतिगत सुधार र कानूनी सहजीकरण गर्दै आएको छ, आगामी दिनमा पनि नेपालीले सहज रूपमा लगानी गर्न सक्ने र लगानीको प्रतिफल उपभोग गर्न सक्ने वातावरण निर्माण गरिनेछ।”

प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रूपान्तरण र दिगो विकासका लागि आधुनिक र गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण हुन आवश्यक रहेको र त्यसका निम्ति मुलुकमा ठूला विद्युत् आयोजना, सडकलगायत परियोजना कार्यान्वयन गर्न पुँजी र प्रविधि दुवैको उच्च खाँचो औँल्याए।

प्रधानमन्त्री देउवाले विक्रम संबत् २०७२ को महाभूकम्पका बेलामा उद्धार तथा राहत र पुनःनिर्माण साथै कोभिड-१९ को महामारीका बेलामा मेडिकलजन्य उपकरण र स्वास्थ्य सामग्रीको सहयोग लगायतको योगदान सह्राहनीय रहेको भन्दै नेपाल र नेपालीलाई अप्ठ्यारो परेको बखत गैरआवासीय नेपाली संघबाट प्राप्त साथ, सहयोग र समन्वयप्रति सरकारको तर्फबाट आभार व्यक्त गरे।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गर्न र भावीपुस्तामा हस्तान्तरण गर्न समेत उपयोगी सेतुको काम गरेको उल्लेख गरे।

उनले आगामी दिनमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा पनि नेपाली माटो र नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्न संघले आफ्ना क्रियाकलापलाई सशक्तरूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघका मागप्रति सरकार संवेदनशील रहेको र उनीहरूको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकार सधैँ सकारात्मक रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com