नवलपुरका आकाश राना गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटमा पहिलो भएका हुन्। पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो भएका हुन्। पर्वतका ओमन गुरुङ र तनहुँका अनिश गुरुङ तेस्रो भएका छन ।
यसैगरी पुरुषकै कास्कीका सौगात कुमालले स्वर्ण जिते। उनले स्याङ्जाका विपिन भण्डारीलाई फाइनलमा हराएको थियो । स्याङ्जाका शंकर खनाल र नवलपुरका अनिष तामाङ तेस्रो भए। पुरुष ६३ केजीमा पर्वतका निश्चल गुरुङ पहिलो, कास्कीका सागर परियार दोस्रो र नवलपुरका सुनील पुन एवं बाग्लुङका निर्तिक गाहमगर तेस्रो भए।
६९ केजीमा पर्वतका सुनील विकले स्वर्ण जिते। उनले फाइनलमा कास्कीका कुशल कुमाललाई पराजित गरे। नवलपुरका रामबहादुर गर्बुजा र स्याङ्जाका विवेक नेपाली तेस्रो भए। ७५ केजीमा कास्कीका निशान गुरुङले मन गुरुङलाई पराजित गर्दै स्वर्ण जिते।
८१ केजीमा पर्वतका मनिष बिसी र ९१ केजीमुनिको तौल समूहमा पर्वतका किरण विक पहिलो भए। उनले कास्कीका आयुष थापालाई पाखा लगाए। यसैगरी महिलाको ५१ केजी तौल समूहमा पर्वतकी अस्मिता थापा, ५७ केजीमा पर्वतकै सीमा गुरुङ र ६० केजी तौल समूहमा पर्वतकै जेसिका श्रेष्ठले पहिलो स्थान हात पारेका हुन ।
आगामी बैशाख ६ देखि १० गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
खेल सामग्री सहयोग
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना आगामी वैशाखमा हुन लागेको राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि विश्वप्रसिद्ध खेल उत्पादक कम्पनी ‘ग्रिन हिल’ले खेलकुद सामग्री सहयोग गरेको छ।
पाकिस्तानमा रहेको ‘ग्रिन हिल’ले प्रतियोगिताका लागि चार लाखभन्दा बढीको सामग्री सहयोग गरेको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जानकारी दिएको छ ।
पाकिस्तानी कम्पनी ‘ग्रिन हिल’ले गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितालाई अन्तर्राष्ट्रिय बक्सिङ महासंघको सर्टिफाइड खेलकुद सामग्री सहयोग गरेको छ । ‘ग्रिन हिल’ले हेड गार्ड, ग्लोभ्सलगायतका सामग्री सहयोग गरेको छ ।

