चिनियाँ अधिकारीहरूले साङ्घाईमा जारी निषेधाज्ञा पूरै दुई करोड पचास लाख जनसङ्ख्यामा लागु हुने गरी बिस्तार गरेका छन्। यो निर्णय त्यहाँ कोभिड-१९ सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेपछि लिइएको हो। सुरुवातमा पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।
साङ्घाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो। महत्त्वपूर्ण वित्तीय केन्द्र समेत रहेको यस सहर विगत एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरसँग सङ्घर्षरत छ। अधिकारीहरूले कोरोनाभाइरसको सङ्क्रमण दर प्रतिदिन १३,००० भन्दा माथि पुगेपश्चात् नयाँ नियम लगाएका हुन्।
सहरका केही भेगका बासिन्दाका अनुसार उक्त कडा प्रावधान अन्तर्गत कोही पनि आफ्नो घर बाहिर निस्कन पाउँदैनन्। उनीहरूलाई अत्यावश्यक सामग्री जोहो गर्न समेत बन्देज लगाइएको छ। स्थानीय बासिन्दाहरूले अनलाइनमार्फत खाद्यान्न र पानी मगाउन समेत कठिनाइ भएको बताएका छन्।
निषेधाज्ञामा उनीहरूले आफ्नो आवश्यकता अनुरूप सामान कहिले माग गर्ने भन्नेमा पनि कडाइ गरिएको छ। क्वारन्टीन नीतिलाई लिएर बढ्दो जनआक्रोशका बीच साङ्घाईले यति बेला चीनको शून्य-कोभिड रणनीतिको उच्चतम विन्दुसम्म परीक्षण गरिरहेको छ।
यस नीतिले चीनलाई अन्य देशहरूको दाँजोमा अलग्गै राखेको छ। अन्य देशले भाइरसको प्रभाव न्यूनीकरण गर्दै जनजीवन चलायमान राख्ने कोसिस गरेका छन्। तर मन्द लक्षण र तीव्र सङ्क्रमण दर भएको ओमिक्रोन भेरिअन्टले विद्यमान नीति कत्तिको दिगो हुन्छ भन्ने विषयमा प्रश्न खडा गरेको छ।
“अहिले साङ्घाई महामारी रोकथाम तथा नियन्त्रण निकै नै कठिन र जटिल अवस्थामा छ,” महानगरीय स्वास्थ्य आयोगका अधिकारी हु क्वेन्सीले भने। “हामीले विचलित नभई बिनाहिचकिचाहट कोभिड परास्त गर्न स्वास्थ्य मापदण्डहरूको पालना गर्नु पर्छ।”
सोमवार मात्रै साङ्घाईमा १३,०८६ वटा लक्षणरहित सङ्क्रमणहरू पुष्टि भए। उक्त सङ्ख्या सहरव्यापी परीक्षण कार्यक्रमपश्चात् देखिएको थियो जहाँ २४ घण्टामा दुई करोड पचास लाख मानिसहरूको नमुना सङ्कलन गरिएको थियो। कम्तीमा पनि ३८,००० मानिसहरू अन्य क्षेत्रबाट साङ्घाईमा खटाइएका छन्। सरकारी समाचार संस्थाहरूले सन् २०२० मा वुहान निषेधाज्ञा पछि यो हालसम्मकै ठूलो देशव्यापी चिकित्सकीय कार्यक्रम भएको बताएका छन्।

