हरेक वर्ष विश्वभर १.३५ मिलियन मानिस सडकमा मारिने गरेका छन्। ट्रक, कार, बस, मोटरसाइकल, साइकल वा पैदल यात्रीहरू समावेश भएका दुर्घटनाहरूमा हरेक दिन लगभग ३७ सय मानिसहरू विश्वव्यापी रूपमा मारिएका छन्। मारिनेमा आधाभन्दा बढी पैदलयात्री, मोटरसाइकल चालक वा साइकल चालक रहेका छन्।
सबै उमेर समूहहरूको लागि विश्वव्यापी रूपमा मृत्युको आठौं प्रमुख कारण र ५-२९ वर्ष उमेरका बालबालिका र युवाहरूको लागि मृत्युको प्रमुख कारण दुर्घटना हुने अनुमान गरिएको छ। अब एचआईभी/एड्सबाट भन्दा दुर्घटनामा धेरै मानिसहरू मर्छन्।
घातक र गैर-घातक दुर्घटना चोटहरूका कारण विश्व अर्थतन्त्रलाई लगभग १.८ ट्रिलियन डलर खर्च लाग्ने अनुमान गरिएको छ। एक लाख ४७ हजार ५१६ वर्ग किलोमिटर क्षेत्रफल रहेको नेपालको जनसंख्या राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक परिणामअनुसार २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
कोरोनाका कारण लकडाउनका बाबजुद आर्थिक वर्ष २०७७/७८ मा नेपालमा सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या झण्डै २५ सय पुगेको छ। गुगललाई आधार मान्ने हो भने ३२ लाख ८७ हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको छिमेकी मुलुक भारतको जनसंख्या झण्डै एक अर्ब ४० करोड ३३ लाख ९ हजार ८९७ पुगेको छ भने अघिल्लो वर्ष झण्डै एक लाख ५० हजार जना सडक दुर्घटनामा परी मृत्यु भएको देख्न सकिन्छ।
तसर्थ, यातायात व्यवस्थापन र दुर्घटना न्यूनीकरण दिन प्रतिदिन विश्वकै लागि चुनौतीका रुपमा खडा भएको छ। दुर्घटना कसैको प्रिय हुन सक्दैन, त्यसमा पनि गम्भीर र घातक दुर्घटनाहरू त झन् सबैका लागि त्रासदीपूर्ण हुन्छ नै। यस्ता दुर्घटनाका कारण विश्वले ठूलो धनजनको क्षती व्यहोरिरहेको छ, लाखौँ मानिसहरूले अकालमा ज्यान गुमाइरहेका छन्, लाखौँ मानिसहरूले जीवनमा अपाङ्गता भोग्नुका साथै जीवनका सुमधुर क्षणहरू तितो गरी बिताउनु परेको छ। यसमा नेपाल पनि अछुतो हुने कुरै भएन।
नेपालजस्तो विकासशील देशमा मात्र नभई भौतिक पूर्वाधारको चरम विकास र सवारी दुर्घटना न्यूनीकरणका प्रविधिहरूको अधिकतम प्रयोग गर्ने विकसित देशमा पनि यातायात व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण एउटा ठूलो चुनौतीका रूपमा रहेको छ ।
सहज यातायात व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि राज्यले सडक/राजमार्गसँग सम्बन्धित भौतिक पूर्वाधार विकास निर्माण र सवारी दुर्घटना न्यूनीकरणका प्रविधिहरूको अधिकतम प्रयोगमा जति ध्यान वा लगानी गर्नुपर्छ। त्यसको निश्चित प्रतिशत चालकहरूको कुशलता, सचेतना , निपूर्णता , जिम्मेवारीपन अभिवृद्धि गर्ने र शारिरिक वा मानसिक क्षमतामा सुधार ल्याउन खर्च गर्नु पनि उत्तिकै जरुरी रहेको छ।
यातायात व्यवस्थापन र दुर्घटना न्यूनीकरणसँग सम्बन्धित पक्षहरूमा सबैभन्दा प्रभावशाली र संवेदनशील पक्ष चालक हो। गम्भीर वा घातक दुर्घटनाको प्रमुख कारणका रुपमा यान्त्रिक गडबडी, मादक पदार्थ सेवन वा तीव्रगति रहने गरेको छ जुन चालकको चरम लापरबाहीका कारण हुने गर्दछ। सवारी साधन चलाउनुअघि यान्त्रिक चेकजाँच र आवधिक मर्मत सम्भार गर्नु, सवारी नियमको पालना र तीव्र गतिलाई रोक्नु चालकको प्रत्येक्ष नियन्त्रणमा हुन्छ।
अझ ऊसँग राज्यले दिएको विश्वास, जिम्मेवारी अर्थात् सवारी साधन चलाउने अनुमति पत्र हुन्छ। चालकले सचेत भई जिम्मेवारीपूर्वक सुरक्षित रुपमा सवारी साधन चलाएमा जाम घट्ने, यातायात व्यवस्थापन सहज हुने मात्र नभई दुर्घटनाजस्तो अप्रिय घटना नै उल्लेखनीय रूपमा न्युनीकरण हुनेतर्फ गुणात्मक परिणाम आउँछ।
तसर्थ राज्यका तर्फबाट चालकहरूको कुशलता, सचेतना , निपूर्णता, जिम्मेवारीपन अभिवृद्धि गर्ने तथा मानसिक वा शारीरिक क्षमतामा सुधार ल्याउने पक्षमा विशेष ध्यान दिनु जरूरी छ। यसका लागि राज्यले कक्षा ४ बाट कक्षा १० सम्मै कुनै एउटा अनिवार्य विषयमा ‘ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण’ विषयक एउटा छुट्टै अध्याय/च्याप्टरको रुपमा राखी अध्ययन अध्यापनको थालनी, सवारी/पैदल यात्रु/चालक/सहचालक आदिलाई समयसापेक्ष परिणाममूखी जनचेतनामूलक कार्यक्रमहरू संचालन, सवारी नियम उलंघन गर्ने चालकहरूको नियमन र नियन्त्रणमा कडाई र हालको लिखित र ट्रायल परीक्षामा पास हुने वित्तिकै सवारी साधन चलाउन सवारी चालक अनुमती (लाइसेन्स) प्रदान गर्ने परम्परागत विधिमा परिमार्जन गर्नु जरुरी छ।

