खोटाङ – मंगलबारदेखि आगामी ४ वैसाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टीसीभी) खोप दिनेगरी अभियान सुरु गरिएको छ ।
टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रमअन्तर्गत जिल्लामा खोप अभियान थालिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताएका छन् ।
टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानका क्रममा एक हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता परिचालन गरिएको छ ।

