खोटाङ – सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भए । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच सत्ता गठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो ।
गत चैत १६ गतेदेखि सुरु भएको सत्ता गठबन्धनमा सहभागी चार दलको बैठकले वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा चार पालिकामा कांग्रेसबाहेक र छ पालिकामा कांग्रेससहित चार दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
साकेला गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र जसपाका उपप्रमुख, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका प्रमुख र जसपाका उपप्रमुखलाई एकअर्काले सहयोग गर्ने सहमति भएको छ । बाँकी छ पालिकामा भने कांग्रेससहित चार दलीय गठबन्धन बनेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज समिता कार्की ‘अस्मिता’ले जानकारी दिएका छन् ।
दश स्थानीय तहका ७९ वडामा भने तालमेल र भागबण्डाको विषय छलफलकै क्रममा रहेको जनाइएको छ । वडागत तालमेलको विषय पनि भोलिभित्र टुङ्गो लगाइसक्ने गरी सत्ता गठबन्धनको छलफल भइरहेको एकीकृत समाजवादी खोटाङका जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिएका हुन ।
विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्र एक स्थानीय तहमा विजयी भएको थियो । अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी स्थानीय तहमा जित हात पारेको एमाले खोटाङ अहिले सत्ता गठबन्धनको निर्णय पर्खेर बसेको छ ।
एमाले खोटाङले पालिका तथा वडामा उम्मेदवारको टुङ्गो लगाउन पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको संयोकत्वमा १३ सदस्यीय कार्यदल गठन भएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिए । एमालेका अनुसार वडास्तरीय उम्मेदवारको टुङ्गो लागिसकेको छ भने पालिकास्तरमा गठबन्धनको उम्मेदवार हेरेर चयन गर्ने जनाइएको छ । समाचार अनुसार पालिका तथा वडास्तरका उम्मेदवारको नामावली तयार भइसकेको जनाइएको छ ।

