सबैलाई पठाउनु होला

खोटाङ  –  सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भए । नेकपा (माओवादी केन्द्र),  नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच सत्ता गठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो ।

गत चैत १६ गतेदेखि सुरु भएको सत्ता गठबन्धनमा सहभागी चार दलको बैठकले वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिएका छन्  । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा चार पालिकामा कांग्रेसबाहेक र छ पालिकामा कांग्रेससहित चार दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

दिप्रुङ चुइचुम्मा, केपिलासगढी, हलेसी तुवाचुुङ नगरपालिका  र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेस एक्लै लड्दा अरू तीन दल (माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी) ले एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्ने सहमति जनता समाजवादी खोटाङका अध्यक्ष टङ्क थापाले जानकारी दिएका छन ।

साकेला गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र जसपाका उपप्रमुख, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका प्रमुख र जसपाका उपप्रमुखलाई एकअर्काले सहयोग गर्ने सहमति भएको छ । बाँकी छ पालिकामा भने कांग्रेससहित चार दलीय गठबन्धन बनेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज समिता कार्की ‘अस्मिता’ले जानकारी दिएका छन्  ।

दश स्थानीय तहका ७९ वडामा भने तालमेल र भागबण्डाको विषय छलफलकै क्रममा रहेको जनाइएको छ । वडागत तालमेलको विषय पनि भोलिभित्र टुङ्गो लगाइसक्ने गरी सत्ता गठबन्धनको छलफल भइरहेको एकीकृत समाजवादी खोटाङका जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिएका हुन  ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्र एक स्थानीय तहमा विजयी भएको थियो । अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी स्थानीय तहमा जित हात पारेको एमाले खोटाङ अहिले सत्ता गठबन्धनको निर्णय पर्खेर बसेको छ ।

एमाले खोटाङले पालिका तथा वडामा उम्मेदवारको टुङ्गो लगाउन पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको संयोकत्वमा १३ सदस्यीय कार्यदल गठन भएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिए  । एमालेका अनुसार वडास्तरीय उम्मेदवारको टुङ्गो लागिसकेको छ भने पालिकास्तरमा गठबन्धनको उम्मेदवार हेरेर चयन गर्ने जनाइएको छ । समाचार अनुसार पालिका तथा वडास्तरका उम्मेदवारको नामावली तयार भइसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com