काठमाडौं – घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विस्फोट भएको अनुमान गर्न सकिन्छ । ‘मानिसका शरीरका टुक्रा तीन सय मिटर परसम्म पनि भेटिएको छ, उद्योगको छाना केही बाँकी छैन’ ‘धेरै नै इनर्जीका साथ विस्फोट भएको देखिन्छ । घटनास्थलको अवस्था निकै भयावह देखिन्छ ’, उनले भने । टाढा–टाढाका घरहरुका सिसा पनि फुटेका छन् । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर रहेको छ । 
अक्सिजन भर्ने क्रममा आज बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धीविक्रम शाहले बताएको हुन् । उनले घटनाको विस्तुत अनुसन्धान भइरहेको जानकारी दिएको छ । ‘के कमजोरी भयो भन्ने कुरा थप अनुसन्धानबाट खुल्दै जाला, हामीले गम्भीर रुपमा अनुसन्धान गर्छौं,’ उनले भनेको छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उपाध्यायसहित ललितपुर प्रहरी प्रमुख शाह, राष्ट्रिय अनुसन्धान विभाग र विपद व्यवस्थापनको टोली पुगेका छन ।

