सबैलाई पठाउनु होला

स्वास्थ्य –  विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधनम घेब्रिएस तीन दिवसीय नेपाल भ्रमण सम्पन्न गरेर फर्किएका छन्। उनले भ्रमणका सिलसिलामा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत उच्च अधिकारीहरूसँग भेट गरेका छन्।

उनको नेपाल भ्रमण यस्तो बेलामा भयो जतिबेला विश्व कोरोना महामारीबाट आक्रान्त भइरहेको छ। महामारीले कोल्टे फर्किेन सम्भावना देखाए पनि भविष्यमा कस्तो रूप लिन्छ भन्ने अन्योलता कायमै छ। त्यसैले उनको भ्रमण निकै महत्त्वपूर्ण र उपयुक्त समयमा भएको हो।

कोरोना महामारीबाट नेपाल पनि नराम्रोसँग प्रभावित बनेको छ। नेपालको कमजोर आर्थिक अवस्थाका कारण एक्लो प्रयासले महामारीलाई परास्त गर्न सम्भव थिएन।यसबीचमा छिमेकी राष्ट्र, मित्रराष्ट्रसँगै विश्व स्वास्थ्य संगठनलगायत संघसंगठनको सहयोग नेपालका लागि महत्त्वपूर्ण रहेको थियो ।

जसले गर्दा कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो लहरहरूलाई पराजित गर्न सहज भयो। तर यसो भन्नुको अर्थ सधैं अरूको सहयोगबाट मात्र हामीले हाम्रो स्वास्थ्य क्षेत्र वा आकस्मिक रूपमा आउने संकटलाई टार्न सक्छौं भन्ने होइन।

त्यसका लागि नेपाल आफैंले पनि संकटबाट कसरी जुध्ने भन्ने दीर्घकालीन योजना बताउन आवश्यक देखिन्छ। टेड्रोसले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटमा नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण बजेट विनियोजन गरेको, आधारभूत स्वास्थ्य सेवालाई नेपालको संविधानमै नागरिकको मौलिक हकमा रूपमा सुनिश्चित गरेको, मातृमृत्युदर तथा बालमृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपालको प्रशंसासमेत गरेको छ ।

स्वाभाविक रूपमा नेपालले स्वास्थ्यसँग सम्बन्धित कतिपय क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। तर ती उपलब्धिलाई मात्र हेरेर सन्तुष्ट हुने अवस्था छैन किनभने कोरोना महामारी जारी  नै रहेको छ।

जलवायु परिवर्तन, विश्वव्यापी तापमान वृद्धि, खाद्यान्नमा विषादीको प्रयोगजस्ता कारणले भविष्यमा थप स्वास्थ्य संकट आउन सक्ने सम्भावना प्रबल छ। त्यस्ता संकटसँग नेपाल एक्लैले सामना गर्ने अवस्था देखिँदैन। त्यसका लागि विश्वस्तरीय स्वास्थ्य संगठनजस्ता संस्थाको सहयोग निकै महत्त्वपूर्ण हुन्छ।

टेड्रोसको भ्रमणका बेला नेपालले यस्ता विषयलाई पनि प्राथमिकताका साथ उठाउन सक्नुपथ्र्यो। तर, नेपाली अधिकारीहरूले उनीसँगको भेटमा परम्परागत शैलीमै महामारीका बेला संगठनले महत्त्वपूर्ण सहयोगप्रति आभार र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्छौं भन्दै विगतमा हुने यस्तै किसिमका भ्रमणकै शैलीमा औपचारिकता निभाउने काम गरेको छ ।

नेपालमा विरलै हुने यस्ता महत्त्वपूर्ण भ्रमणहरू केवल औपचारिकतामै सीमित हुने गरेका छन्। यस्तो हुनु पछाडि या त नेपाली अधिकारीहरूले भ्रमणको महत्त्व नबुझ्नु हो वा भ्रमणका लागि आवश्यक तयारी गर्न नसक्नु हो।

स्वास्थ्य संकटको महत्त्वपूर्ण घडीमा भएको टेड्रोसको भ्रमणलाई औपचारिकतामा सीमित गर्ने छुट नेपाललाई थिएन। तर जे नहोस् भन्ने थियो, नेपाली अधिकारीहरूबाट त्यही नै हुने गरेको छ।  हामी आर्थिक हिसाबले कमजोर छौं। यसको अर्थ विदेशी पाहुनासँग सहयोगको अपेक्षा मात्र गर्नुपर्छ भन्ने होइन।

तर कतिपय अवस्था र परिस्थितिले त्यस्तो सहयोग वा सहकार्यको अपेक्षा पनि गर्छ। अहिले टेड्रोसको भ्रमण पनि त्यस्तै एउटा विषम परिस्थितिका बेला भएकाले नेपालले दीर्घकालीन सहयोग र सहकार्यका लागि ठोस छलफल वा प्रस्ताव गर्ने उपयुक्त समय थियो।

तर नेपाली अधिकारीहरूमा राष्ट्रहितभन्दा व्यक्तिगत स्वार्थ बढी देखियो। सही परिस्थितिको सही विश्लेषण गर्ने क्षमताको अभावले विश्व स्वास्थ्य संगठनका महानिर्देशकको भ्रमण पनि विषयवस्तुमा भन्दा बढी उनीसँग फोटो खिचाउनेमै केन्द्रित भयो। उनको तीन दिन लामो नेपाल बसाइका क्रममा नेपालका विज्ञहरूसँग छलफल, महामारी तथा भविष्यमा हुन सक्ने अन्य संकटसँग कसरी जुध्ने र त्यसमा विश्व स्वास्थ्य संगठनले कसरी सहयोग गर्न सक्छ ?

विकासशील र तेस्रो विश्वका नागरिकको स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन के गर्न सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न सकिन्थ्यो। अझ मुलुकको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीसँगको भेटमा नेपालको हितका लागि विश्व स्वास्थ्य संगठनले के कस्तो सहयोग र सहकार्य गर्न सक्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com