काठमाडौं – आफ्नो मुलुकको भूगोल नाघेर गोवा पुगे हुन्छ वा समुन्द्र पार गरेर बाली पुग्न सकिन्छ । विभिन्न ट्राभल एजेन्सीले नवजोडीका लागि हनिमुन प्याकेज नै सार्वजनिक गर्छन् ।
होटल, रिसोर्टहरुले विशेष सेवा सुविधा उपलब्ध गराउँछन् । यद्यपि, मधुमासका लागि विदेश नै ताक्नुपर्छ भन्ने छैन । नेपालमा यस्ता गन्तव्यहरु छन्, जहाँ नवजोडीले स्मरणीय क्षण बिताउन सक्नेछन् ।
विशेषतः मधुमासका लागि यस्तो ठाउँ रोज्ने गरिन्छ, जहाँ रोमाञ्चक अनुभूति संगाल्न पाइन्छ । अतः त्यो मनोरम, शान्त र सुविधायुक्त हुनुपर्छ । मधुमासलाई खास मानिन्छ, नवदम्पती जोडीका लागि ।
विवाहको धपेडी र झमेलाबाट उम्किएर उनीहरु यस्तो एकान्त र शान्त ठाउँमा विचरण गर्न पुग्छन्, जहाँ मात्र उनीहरु हुनेछन् । एकअर्काको भावना साट्नेछन् । र, उन्मुक्त अन्तरंग पल साट्नेछन् । अतः यहाँ त्यस्तै नयाँ गन्तव्य पहिल्याइएको छ, जहाँ भर्खर विवाह गरेका जोडीले मधुमास मनाउन सक्ने छन् ।
मेघौली (चितवन)
रोमान्टिक पलहरु साट्नका लागि उत्तम गन्तव्य हुनसक्छ, मेघौली । एकान्त अनि शान्त ठाउँ । नारायणी र राप्तीको संगम स्थल रहेको छ । त्यहा एक अलग टापु जस्तो रहेको छ ।
नवजोडीले र्याफ्टिङको आनन्द लिन सक्नेछन्, जंगल सफारीको अनुभव संगाल्न सक्नेछन् । यहाँ सेवासुविधाको कुनै कमी छैन । अत्याधुनिक होटल, रिसोर्टमा बस्न सक्नुहुनेछ ।
थारु होमस्टेमा बेग्लै अनुभव लिन सक्नुहुनेछ । यातायात : भरतपुरको सदारमुकाम चौबिसकोटीदेखि २५ किलोमिटर दूरीमा छ । काठमाडौंबाट १४६ किलोमिटर दूरीमा पुग्न सकिन्छ । सडक तथा हवाई मार्गबाट पुग्न सकिन्छ ।
सुविधा : नेपालकै सबैभन्दा महंगो होटेलदेखि थारु सामुदायिक होमस्टे लगायतका होटेल, रिसोर्टको सुविधा रहेको छ । सडकमार्ग तथा हवाईमार्गको सुविधा पनि रहेको छ । एक रातको अनुमानित बसोबास खर्च : २ हजारदेखि २० हजार रुपैयाँसम्म मात्र रहेको छ ।
रुपाकोट (कास्की)
रुपाकोट, नाम जस्तै रुपवती ठाउँ छ । त्यसमाथि धेरै झरी पर्ने ठाउँ । सिनेमा, साहित्यमा झरीलाई रोमान्सको विम्ब बनाइन्छ । झरीमा रमाउने जोडीका लागि रुपाकोट सही गन्तव्य हुनसक्छ ।
रुपा तालको सिरान भएकाले पनि यसलाई रुपाकोट भनिने गरेको पोखराका स्थानीय बासिन्दा एवं अभिनेता माओत्से गुरुङ बताउँछन् । भैचा डाँडामा रहेको भ्युटावर, स्थानीय होमस्टे यहाँका आकर्षण हुन् ।
सूर्यास्तको दृश्यालोकन, हाइकिङको आनन्द लिन सकिन्छ । यातायात : पोखराबाट एक घण्टाको सडक यात्रामा रुपाकोट पुग्न सकिन्छ । काठमाडौंबाट करिब दुई सय किलोमिटरको यात्रा गरेपछि रुपाकोट पुगन सकिन्छ ।
यातायातको राम्रो सुविधा रहेको छ । स्तरीय होटल र होमस्टे उपलब्ध छन् । एक रातको अनुमानित बसोबास खर्च : २१ हजार रुपैयाँसम्म रहेको छ ।
बन्दीपुर (तँनहु)
बन्दीपुर चर्चित पर्यटकीय गन्तव्य रहेको छ । भक्तपुरे शैलीमा निर्माण भएका घर, परम्परागत संस्कृति देख्न सकिन्छ । बन्दीपुरमा आगन्तुकलाई लोभ्याउने अनेक कुराहरु रहेका छन्, ।
परम्परा र आधुनिकताको मिश्रणले बन्दीपुरलाई खास बनाएको छ । यहाँ नवदम्पतीले उन्मुक्त भएर दिन व्यतीत गर्न सक्छन् । यहाँबाट लमजुङ हिमाल, मस्र्याङ्दी नदी लगायतका मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
यातायात : काठमाडौंबाट १६० किलोमिटरको यात्रा गरेर पुग्न सकिन्छ । सुविधा : स्तरीय होटल, रिसोर्ट र होमस्टे रहेका छन् । बन्दीपुर माउन्टेन रिसोर्ट, होटल वोल्डइन, होटल दरबार हिमाल लगायतमा खाने बस्ने सुविधा रहेको छ । एक रातको अनुमानित बसोबास खर्च : ७ हजार रुपैयाँसम्म पर्ने गर्दछ ।
भेडेटार (धनकुटा)
गर्मीको मौसम छ । यतिबेला भुईंकुहिरोसँग लुकामारी खेल्दै शीतलता अनुभव गर्न सकिने गन्तव्य आफैंमा गज्जब हुनसक्छ । यसका लागि रोज्जा ठाउँ हो भेडेटार ।
भेडेटारको धेरैजसो भाग धनकुटाको साँगुरीगढी गाउँपालिकामा पर्ने भए पनि केही भाग भने सुनसरीको धरान उपमहानगरपालिकामा पर्ने गर्दछ ।
बाहैमास चिसो हावापानी भइरहने भएकाले धेरैजसो गर्मी छल्न यहाँ आउने भेडेटार भिलेज रिसोर्टकी सञ्चालक पद्यमिनी राई बताउँछिन् ।
यातायात : धरानबाट १६ किलोमिटर मोटरयात्रा गरेपछि भेडेटार पुग्न सकिन्छ । कोशी राजमार्गमै पर्ने भएकाले यहाँसम्म सहजै पुग्न सकिन्छ । सुविधायुक्त होटल र रिसोर्ट रहेका छन् । एक रातको अनुमानित बसोबास खर्च : ८ हजार रुपैयाँसम्म पर्ने गर्छ ।
कागबेनी (मुस्ताङ)
फरक भूगोल र परिवेशमा रमाउन चाहनेका लागि उपयुक्त गन्तव्य हुनसक्छ, कागबेनी । प्राचीन शैलीका घर, ६ सय वर्षभन्दा पुराना दरबार, गुम्बाहरु यहाँका आकर्षण हुन् ।
फरक वातावरण भएकाले यहाँ नवदम्पतीले स्मरीय क्षण बिताउन सक्छन् । यहाँ कालीगण्डकी नदीमा स्नान, मुक्तिनाथको दर्शन, हिमाली जीवनशैलीको अनूभति, फरक धर्म संस्कृति, रीतिरिवाजको अवलोकन सकिने होटल सांग्रिलाका सञ्चालक छेतेन गुरुङ बताउँछन् ।
यातायात : काठमाडौंबाट ४०० किलोमिटरको सडक यात्राबाट कागबेनी पुग्न सकिन्छ । हवाई तथा सडक मार्गबाट पुग्न पनि सकिन्छ ।

