काठमाडौं – ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ राखिएका कारण जावलाखेलबाट पुल्चोक आउ-जाउ गर्ने सबै प्रकारका सवारी साधनहरुलाई डाइभर्सन गरिएको छ ।
सवारी साधनहरुलाई झम्सीखेल हुँदै सुजुकी मोड तथा कानदेवता स्थान आउ-जाउ गर्ने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।
काठमाडौं उपत्यकाका अन्य स्थान तथा नाकाहरूको सवारी आवागमन भने सामान्य रहेको महाशाखाले जानकारी दिएको छ ।
आइतबार रातो मच्छिन्द्रनाथको मूर्तिको रथारोहण गरिएको थियो । रथारोहणसँगै अहिले दर्शनार्थीको भीड लागिरहेको छ ।
मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा सुरु भएको मान्दै आएको छ । रातो मच्छिन्द्रनाथको रथ २१ गते पुल्चोकबाट गाबहाल तान्ने कार्यक्रम रहेको छ ।
नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष सांकेतिक रुपमा मात्र गरिएको हो ।

