सबैलाई पठाउनु होला

तपाईं चाहे तर्तरी पसिना चुहाउनुहोस् वा कडा व्यायाम गर्नुहोस् । बेतोडले दौडनुहोस् वा बेपत्तासँग उफ्रनुहोस् । तर, पुट्ट पेट घट्दै घटेन । के गर्नुहुन्छ ? उपाय छैन । पुट्ट पेट अर्थात् रोगको घर । भद्दा ज्यान । अशोभनीय शरीर ।

धेरैको लागि टाउको दुखाइको विषय हो यो । आखिर किन यस्तो हुन्छ ? जगजाहेर छ, अस्वस्थकर खानपान र ऐस-आरामको जीवन । जब शरीरमा बोसो जम्न थाल्छ, अस्वाभाविक पेट उछिट्टएिको देखिन्छ, हिंडडुल गर्दा स्वाँ-स्वाँ हुनथाल्छ तब मान्छेहरू जिम धाउने सुरसार गर्छन् ।

जिममा पुगेपछि आफ्नो समस्या ‘छुमन्तर’ हुन्छ भन्ने ठान्छन् । त्यसैले उनीहरू भनिरहेका हुन्छन्, ‘पन्ध्र दिनमा पेट घटाइदिनुपर्‍यो ।’ प्रकाश केसीकहाँ पनि अक्सर यस्तै मान्छेहरू ठोक्किन आइपुग्छन्, जो मोटोपनले सताइएका छन् । हात-खुट्टा लिखुरे हुन्छ, तर पेट बडेमाको ।

कसरी पेट घटाउने ? कसरी हात-खुट्टाको मांसपेशी बढाउने ? कसरी सुहाउँदो देखिने ? कसरी सुगठित ज्यान बनाउने ? प्रकाश सधैं यस्तै प्रश्नहरूको घेराबन्दीमा  परिरहेका हुन्छन् । भनिहालौं, प्रकाश केसी अनुभवी जिम प्रशिक्षक हुन् ।

यसबाहेक पनि उनको खास परिचय छ । यद्यपि अहिले यसलाई एकछिन थाती राखौं । किनभने यहाँ जिमको चर्चा जो गरिंदैछ । प्रकाशको लाजिम्पाटस्थित ‘ड्रिम्म्स फिटनेस स्टुडियो’ छ, जहाँ खासगरी गन्यमान्य व्यक्तिहरू भद्दा ज्यानलाई तह लगाउन पुग्ने गर्छन् । कतिपय चाहिं ज्यानलाई सुगठित बनाउने ध्येयले पुग्ने गर्छन् ।

रेखा थापादेखि इन्दिरा जोशीसम्म, ऋषि धमलादेखि आकाश श्रेष्ठसम्म यो सूचीमा सामेल छन् । तर, फिटनेस स्टुडियोमा आउने सबैको लागि एकैनासको सुझाव हुन्न, प्रकाशको । किन ? ‘उनीहरूको आवश्यकता फरक हुन्छ । कसैलाई पेट घटाउनुपर्ने हुन्छ, कसैलाई मांसपेशी बनाउनुपर्ने’ प्रकाश सुनाउँछन्, ‘कुन प्रयोजनको लागि आउने हो, त्यसै अनुरूप भिन्न भिन्नै ट्रेनिङ गराइन्छ ।’

यी त आधारभूत कुरा भए । त्यसबाहेक उनीहरूको शरीरको अवस्थितिले पनि कस्तो ट्रेनिङ गर्ने भन्ने कुरा निर्धारण गर्छ । यसका लागि दक्ष फिटनेस ट्रेनरसँग ‘बडी एनाटोमी’ अर्थात् शरीरको रचना विज्ञानबारे ज्ञान हुनुपर्छ ।

शरीर विज्ञान अनुरूप व्यायाम

‘सबैको शरीरको रचना विज्ञान एकै किसिमको हुँदैन’ प्रकाश भन्छन्, ‘त्यसैले कसलाई कस्तो ट्रेनिङ गराउने भन्ने आधार उनीहरूको मेडिकल हिस्ट्री हेरेर निर्धारण गरिन्छ ।’ कतिपयलाई मधुमेहले ग्रस्त बनाएको हुनसक्छ, कतिपयलाई उच्च रक्तचापले ।

कतिलाई कोलेस्ट्रोलले सताएको हुनसक्छ, कतिलाई थाइराइडले । विद्यमान स्वास्थ्य समस्या अनुरूप कस्तो ट्रेनिङले ज्यानलाई ‘फिट एन्ड फाइन’ बनाउँछ भन्ने कुरा निर्क्योल गर्नुपर्ने हुन्छ । ‘त्यसपछि मान्छेको उमेर र स्थिति हेर्नुपर्छ’ प्रकाश भन्छन्, ‘मस्त जवान र वयस्क व्यक्तिका लागि गराइने ट्रेनिङ फरक हुन्छ ।’

धेरैलाई लाग्न सक्छ, जिम भनेको नव-जवानहरूको लागि हो । तन्नेरीहरू आफ्नो ज्यान सुगठित बनाउन जिम धाउँछन् । तर, त्यस्तो हुँदै होइन । प्रकाशकहाँ अहिले पनि यस्ता व्यक्ति जिमका लागि आइरहेका छन्, जसको उमेर ७० वर्ष उकालो लागिसक्यो ।

चाहे उमेरले पाकिसकेको होस् वा दीर्घ रोगले गाँजिसकेको, सबैका लागि जिम उपयोगी हुन्छ । फरक यति मात्र हो, उनीहरूका लागि कस्तो ट्रेनिङ उपयुक्त हुन्छ भन्ने टुंगो गर्न सक्नुपर्छ । यसका लागि प्रमाणित र अनुभवी प्रशिक्षकको खाँचो रहेको हुन्छ ।

‘जिमको ध्येय पेट घटाउनु मात्र होइन’ प्रकाश सुनाउँछन्, ‘खासमा त शरीरलाई लचिलो, तन्दुरुस्त र फूर्तिलो बनाउनु हो । समग्रमा स्वास्थ्य मापदण्ड अनुरुपको शरीर बनाउनु हो ।’ तर, यसका लागि जिम मात्र काफी छ त ? ‘छैन’ प्रकाश संक्षिप्तमा भन्छन्, ‘खासमा त खानपान प्रमुख कुरा हुन् ।’

प्राकृतिक रूपमा हाम्रो शरीरको एक निश्चित ढाँचा हुन्छ । स्वास्थ्यप्रति सतर्क एवं सजग व्यक्तिको शरीरको ढाँचा सधैं एकनास हुन्छ । तर, खराब जीवनशैली र खानपानको कारण भित्री अंगहरूले सही रूपमा कार्य सम्पादन गर्न सक्दैनन् ।

अतिरिक्त खाना बोसोको रूपमा भण्डारण हुन्छ । त्यसपछि शरीर जस्तो हुनुपर्ने, त्यस्तो रहँदैन । अर्थात् भद्दा वा असुहाउँदिलो हुनसक्छ । ‘अहिले हामी सिक्स प्याक एब्सको कुरा गर्छौं’ प्रकाश भन्छन्, ‘त्यो पछि बनाउने होइन ।

हाम्रो शरीरमा यथावत् हुन्छ ।’ तर, बोसो जम्दै जाँदा त्यो बनौट पुरिंदै जान्छ । धेरैजसो ‘सिक्स प्याक एब्स’ बनाउने भन्दै जिम धाउँछन् । ‘सिक्स प्याक एब्स जिममा होइन, भान्सामा बनाउने हो’ प्रकाश यसै भन्छन् ।

सही खानपान पहिलो शर्त

सुगठित शरीर बनाउनका लागि जिम धाएर मात्र पुग्दैन । तपाईं जतिसुकै जिम धाउनुहोस् वा व्यायाम गर्नुहोस्, खानपान शैली अनुशासित भइदिएन भने ती सबै बेकार छन् ।

‘फिटनेसका लागि आउनेलाई उनीहरूको आवश्यकता हेरेर डाइट चार्ट बनाइदिन्छौं’ प्रकाश भन्छन्, ‘त्यही अनुसार सर्वप्रथम उनीहरूले खानपान व्यवस्थित गर्नुपर्छ ।’ शरीरले राम्ररी कार्य सञ्चालनको लागि सम्पूर्ण पोषणको जरुरत हुन्छ । अधिकांश पोषकतत्वको स्रोत खाना नै हो ।

तर, कस्तो खाना ? ताजा अनि सन्तुलित । भिन्नभिन्नै खानेकुराबाट भिन्नभिन्नै पोषकतत्व प्राप्त हुन्छ । यसरी खानेकुरामा विविधता हुन जरूरी छ । ‘पोषणविद्ले जस्तै खानपानबारे विस्तृतमा भन्न मिल्दैन’ प्रकाश भन्छन्, ‘तर सामान्यतः कस्तो खानपान गर्ने भन्ने कुराको हामीसँग जानकारी हुनुपर्छ ।’ स्वस्थकर, सन्तुलित, ताजा, पोषिलो खानाले नै शरीर बलियो अनि सुगठित बन्ने हो ।

जरूरी छ कार्बोहाइड्रेड

‘हाइ प्रोटिन, गुड फ्याट, लो कार्बोहाइड्रेड, गुड फ्याट, हाइ फाइबर !’ प्रकाशको बुझाइमा खानपानको मोटामोटी सूत्र यत्ति हो ।
मांसपेशी, हड्डी, जोर्नी बलियो अनि चुस्त बनाउनका लागि शरीरमा प्रोटिन जरूरी  रहेको हुन्छ ।

प्रोटिनको मूल स्रोत माछामासु, अन्डा, गेडागुडी र दुग्धजन्य परिकार हुन् । कडा शारीरिक व्यायाम वा काम गर्नेले पर्याप्त प्रोटिन लिनैपर्छ । फ्याट अर्थात् बोसो । धेरैमा के भ्रम छ भने, बोसो खाएपछि मोटोपन बढ्छ । जबकि बोसो र मोटोपनबीच खास सम्बन्ध छैन ।

बोसो शरीरका लागि नभई नहुने तत्व हो । खासगरी अनस्याचुरेटेड फ्याट शरीरका लागि आवश्यक हुन्छ । शरीरलाई क्रियाशील बनाइराख्न बोसो जरूरी हुन्छ । यस किसिमको बोसोले मस्तिष्क, नसामाथि हुने पातलो झिल्लीको रूपमा काम गर्छ ।

साथसाथै हर्मोनलाई सन्तुलित राख्न पनि सहयोग गर्छ । बदाम, ओखर, कटुस, जैतुनको तेल आदिमा अनस्याचुरेटेड फ्याट मिल्छ । कार्बोहाइड्रेडबारे समाज भ्रमित छ । एकथरी छन्, जसले कार्बोहाइड्रेडको कुप्रचार गरेका छन् ।

यो खानै हुन्न, यसले मोटोपन बढाउँछ भनेर । जबकि स्वस्थ र तन्दुरुस्त शरीरका लागि कार्बोहाइड्रेड अत्यावश्यक रहेको  छ । जबकि, शरीरमा शक्तिको मुख्य स्रोत नै कार्बोहाइडे्रड हो ।

चामल एवं अन्न, आलु आदि कार्बोहाइडे्रडका राम्रा स्रोत हुन् । ‘कार्बोहाइडे्रड खानै हुन्न भन्ने भ्रम व्याप्त छ’ प्रकाश भन्छन्, ‘तर, शरीरमा ऊर्जा प्रदान गर्ने नै कार्बोहाइड्रेडले हो ।’

फिटनेस ‘छुमन्तर’ होइन

व्यायाम र खानपानको समुचित तालमेलले शरीरलाई सुगठित बनाउन सकिन्छ । प्रकाशको अनुभवले पनि यसै भन्छ । जिम धाउनासाथ पेट स्वाट्टै घट्छ । मांसपेशी बलियो हुन्छ । ज्यान सुगठित हुन्छ । यस्तै धारणा व्याप्त छ, समाजमा । ‘तर, यो हतारमा हुने वा आजको भोलि नै आउने परिवर्तन होइन’ प्रकाश भन्छन्, ‘यसका लागि एउटा लामो प्रक्रिया हुन्छ ।

धैर्य चाहिन्छ ।’ आफ्नो शरीरको रचना विज्ञान, अवस्थिति, उमेर आदि अनुसार निश्चित ट्रेनिङ निर्धारण गरिन्छ । सोही बमोजिम नियमित ट्रेनिङ गरेपछि शरीरले स्वास्थ्य मापदण्ड अनुरूप आकार ग्रहण गर्छ । यस्तो शरीर, जुन हेर्नमा छरितो, सुगठित र सुहाउँदो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com