काठमाडौं – अन्ततः अभिनेता भुवन केसी सत्तारुढ दल नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भुवनसहितका कलाकारलाई पार्टी प्रवेश गराए ।
दुई साताअघिसम्म स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरको उम्मेदवार बन्ने कुराले चर्चामा रहेका केसी सबैलाई चक्मा दिंदै कांग्रेस प्रवेश गरे ।
पार्टी प्रवेशपछि कुरा गर्दै केसीले फिल्म र राजनीतिलाई सँगै अघि बढाउने बताएका छन् । पदका लागि आफू कांग्रेस प्रवेश गरेको भन्ने आलोचनाको खण्डन गरेका केसीले सरकारले जिम्मा दिए चलचित्र विकास बोर्डको नेतृत्व हाँक्ने समेत बताए ।
‘दुई साताअघिसम्म स्वागत नेपालको दलबाट मेयरमा उठ्ने कुरा थियो । अचानक कांग्रेस प्रवेश गर्नुभयो । कसरी सम्भव भयो ?’ भन्ने पत्रकारहरुको प्रश्नको उत्तर दिंदै भुवन केसीले जवाफ दिए, ‘स्वागतजी मेरो भाइ हो । उहाँसँग मेयरमा उठ्नेबारे एकपटक कुराकानी भएको हो । तर त्यसमा मैले ठोस निर्णय भने लिइसकेको अवस्था थिएन । उहाँले प्रस्ताव पनि गर्नुभयो । एक चरणको छलफल पनि भयो । तर यसलाई मैले पोजेटिभ नै लिन्छु । मलाई उम्मेदवारको प्राथमिकतामा राख्नुभएकोमा म उहाँप्रति आभारी छु । २२ वर्षदेखि म नायकको रुपमा नेपाली चलचित्र क्षेत्रमा छु । १० वर्षको उमेरदेखि म रेडियो नेपालमा बालगायकको रुपमा थिएँ । जिन्दगी यसैमा बित्यो ।’
कुराकानीको क्रममा उहाँले थप्नुभयो, ‘राजनीतिमा प्रवेश गरेपछि सच्चा मन, वचन र कर्मले नै देश र नेपाली दाजुभाइ दिदीबहिनीहरुको सेवामा समर्पित हुँदै र कला क्षेत्रमा मैले गर्न सक्ने कुरालाई ख्याल गर्दै उहाँहरुले दिने जिम्मेवार निर्वाह गर्न म तयार छु । सबैजनाको सल्लाह लिएरै म अघि बढ्छु ।’
अभिनेता केसीले थपे, ‘बाँकी जिन्दगी पनि कला क्षेत्रमै बिताउँछु । मेरो पहिलो प्राथमिकता पनि कला क्षेत्र नै हो । म कलाकार भुवन केसीको रुपमै चिनिन रुचाउँछु । तर कतिपय ठाउँमा कलाकारले राजनीति गर्न सक्दैनन् वा कलाकार राजनीतिमा आउनु हुँदैन भन्ने सुनिन्छ ।’
‘मेरो व्यक्तिगत विचारमा यदि मौका पाएको खण्डमा कलाकारले आफ्नो देश र जनताको लागि तन, मन र वचनले नै राजनीति गर्न सक्छन् । यसका लागि कलाकारसँग भिजन पनि छ किनभने हामी गाउँ–गाउँ, बस्ती र चोकमा पुगेर दर्शक तथा जनतासँग प्रत्यक्ष साक्षात्कार भएर एकअर्काका कुरा सेयर गरेका छौं ।’
अभिनेता केसीले उत्साहित हुँदै थपे, ‘कांग्रेस पार्टीले नै हामी कलाकर्मीलाई धेरै स्वागत गरेको र समस्याको समाधान गर्न सक्छ भन्ने लागेर म पार्टी प्रवेश गरेको हुँ ।’
त्यस्तो कुनै पोजिसन लिने भनेर म पार्टी प्रवेश गरेको पनि होइन । प्रधानमन्त्रीजीसँग यसबारे छलफल गरेको पनि होइन । कलाकार भएको नाताले म राजनीतिमा प्रवेश गर्दा पनि पहिलो प्राथमिकता कला क्षेत्रप्रति नै हुनेछ । अवसर पाएको खण्डमा देश र जनताप्रति तनमन र वचनले मनैदेखि समर्पित भएर लाग्नेछु ।’
पत्रकारहरुसंगको कुराकानीमा अभिनेता भुवनले थपे, ‘केही गर्ने मौका पाए त्यसमा पनि गर्नेछु भन्ने विषयमा छलफल भएको छ । हामी पार्टी प्रवेश गर्दा प्रधानमन्त्रीज्यू एकदमै खुसी हुनुभयो । तपाईंजस्तो नेपाली कलाकारलाई नेपालीले यति माया गर्नुभएको छ भनेर हार्दिकताको साथ स्वागत गर्नुभयो । आफ्नो तर्फबाट कला क्षेत्रको विकासमा दिन सक्ने योगदानबारे प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनुभयो ।’
वहाले अगाडी थप्नु भयो, ‘राजनीतिमा प्रवेश गरेपछि सच्चा मन, वचन र कर्मले नै देश र नेपाली दाजुभाइ दिदीबहिनीहरुको सेवामा समर्पित हुँदै र कला क्षेत्रमा मैले गर्न सक्ने कुरालाई ख्याल गर्दै उहाँहरुले दिने जिम्मेवार निर्वाह गर्न म तयार छु । सबैजनाको सल्लाह लिएरै म अघि बढ्छु ।’
कलाकार भएर राजनीति गर्नुहुँदैन भन्छन् नि ? भन्ने जिज्ञासाको उत्तर दिंदै अभिनेता भुवन केसीले भने, ‘कलाकार मात्र होइन विभिन्न क्षेत्रका व्यक्तित्वहरु जसले आफ्नो क्षेत्रमा दक्षता हासिल गर्नुभएको छ र जिन्दगी बिताउनुभएको छ । ती सबै व्यक्तिलाई आफ्नो क्षेत्रलाई अघि बढाउन हरेक क्षेत्रका मानिसहरु राजनीतिमा निस्वार्थ भावले लाग्नुहुन्छ भने त्यसप्रति अरु क्षेत्रका मान्छेप्रतिभन्दा विश्वास जाग्छ भन्ने लाग्छ । किनभने हामीले एउटा क्षेत्रमा हामीले ४० वर्ष योगदान दिएर मन त जितेका छौं नि । हामीले त्यो स्याबासीलाई ख्याल गर्दै तन, मन र वचनले अघि लाग्दा हुन्छ भन्ने लाग्छ ।’
कलाकारहरु राजनीतिमा लागेर पनि चलचित्र क्षेत्रको समस्यालाई समाधान गर्न सकेनन् भन्ने गुनासो पनि छ नि ? भन्ने प्रश्नको जवाफ दिंदै अभिनेता केसीले बताए, ‘यसका लागि अवसर दिनुपर्यो । कलाकारलाई सधैं भाषण र चुनावमा लैजाने र कलाकारलाई सधैं गहना मात्र हुन् भनेर भाषणमा मात्र सीमित राख्नुभएन । मौका मिलेको खण्डमा कलाकारले देश पनि हाँक्न सक्छन् भन्ने अवसर प्रदान गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

