देशैभर स्थानीय चुनाबको माहोल तातिरहेको छ । यसै क्रममा निर्वाचन आयोगले सबै जिल्लाको स्थानीय तहहरुको निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी र कर्मचारी सहित मतदान अधिकृतहरु खटाएको छ । विभिन्न जिल्लाको गाउँपालिका र नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाहरुमा मतदान केन्द्रहरुमा धमाधम मतदान अधिकृतहरु आफ्नो कर्तब्य पालनाका लागि खटिएका छन् ।
कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिए
कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै मतदान अधिकृत मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित आ–आफ्नो मतदान केन्द्रमा खटिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाइसकेको जानकारी दिनुभयो ।“मतदान अधिकृत आ–आफ्नो केन्द्रमा पुगेर सर्वदलीय बैठकसमेत गरिसकेका छन् ।” उहाँले भन्नुभयो,“ निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।”यसैगरी बुधबार र बिहीबार मतदान केन्द्रमा नयाँ मतदाता र हराएको भनि निवेदन दिएकालाई मतदान परिचयपत्र वितरण गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
“ हिजो रातिदेखि मौन अवधि सुरु भएको छ ।” उहाँले भन्नुभयो,“अहिलेसम्म मौन अवधि उल्घङ्न भएको हामीकहाँ उजुरी परेको छैन् ।”नौ वटा पालिका रहेको कञ्चनपुरमा कूल दुई लाख ९५ हजार ३५४ मतदाता रहेका छन् । त्यसैगरी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मी परिचालन भइसकेको बताउनुभयो ।
“ भयरहित वातावरणमा वैशाख ३० गतेको निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुुनुहोस् ।” कार्यालय प्रमुख जोशीले भन्नुभयो,“ सीमा नाका बन्ददेखि मदिरा बेचबिखनसमेत निषेध गरिएको छ ।” जिल्ला सुरक्षा समितिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँगसित समन्वय गरेर निर्वाचन सम्पन्न गराउन सक्रिय भूमिका निभाएको छ ।

कर्मचारी र सुरक्षाकर्मी सबै मतदान केन्द्रमा पुगे
आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी जिल्लाका सबै मतदान केन्द्रमा पुगेका छन् । जिल्लामा रहेको १८२ मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जिल्लामा निर्वाचनका लागि आएको सबै मतपेटिका, मतपत्रलगायत आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानकोसहित दुई हजार ३५० जना सुरक्षाकर्मी र मतदात अधिकृत, सहायक मतदान अधिकृतलगायतका गरी ९८५ जना कर्मचारी खटिएको उहाँको भनाइ छ ।
जिल्लामा १२३ मतदानस्थल अन्तर्गत १८२ मतदान केन्द्र छन् । १८२ जना मतदान अधिकृत र १८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा ३४९ जना सहयोगी कर्मचारी र १८२ जना कार्यालय सहयोगी खटिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा तीन÷तीनजना गरी ५४६ जना स्वयंसेवक खटाइने भएको छ । एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताउनुभयो ।
उहाँका अनुसार ५०० भन्दा कम मतदाता रहेको १५ मतदान केन्द्र छन् । ५०० सम्म मतदाता रहेको केन्द्रमा एकजना सहायक कर्मचारी र ५०० बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आयोगबाट आएको ५८ प्रकारका सामग्रीसहित अन्य आवयक सामग्री समेत पठाएको छ । यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गत आइतबार तालिमसमेत प्रदान गरेको थियो । जिल्लामा एक लाख ३१ हजार ४९४ जना कूल मतदाता छन् । त्यस्तै, २२ अतिसंवेदनशील, ८० संवेदनशील तथा २१ सामान्य रहेको बताइएको छ ।

म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे
स्थानीय तह चुनाव सञ्चालन गर्न म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदानस्थलका ११४ वटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका जनाएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मङ्गलबार केन्द्रमा पुगेर मतदान अधिकृतले सूचना टाँसेका जानकारी दिनुभयो ।
बुधबार र बिहीबार मतदान केन्द्रमा सर्वदलीय, सर्वपक्षीय बैठक, मतदान केन्द्र निर्माण र मतदाता परिचयपत्र वितरणका साथै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । एकाघरको सदस्यलाई मतदाता परिचयपत्र दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ लागेका हुन् । कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेपछि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।
चुनावका लागि म्याग्दीमा कूल दुई हजार २५ कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । मतदान केन्द्रमा ५६१ कर्मचारी र एक हजार ४६६ सुरक्षाकर्मी परिचालन भएका हुन् । एक सय १४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २२८ सहायक कर्मचारी, ११४ सहयोगी कर्मचारी गरी जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन् ।
निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ६१८ म्यादी प्रहरी नियुक्त भएका छन् । तीन सय ८० नेपाल प्रहरी, २०६ सशस्त्र प्रहरी, २६२ नेपाली सेना परिचालन भएका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।
मतदानको दिन नजिकिँदै गर्दा सुरक्षा र अन्य व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । मतदान र मतदानअघि तथा मतगणनासम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ । छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रोलिङ्गी गरी ८५ हजार ३७५ मतदाता छन् । निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

रोल्पामा २९ मतदान केन्द्र अतिसंवेदनशील, मतदाता पुरुषभन्दा महिला धेरै
स्थानीय तहको निर्वाचन सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरेको जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने सुरक्षा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।
जिल्लामा ८१ मतदानस्थल र १७३ मतदान केन्द्र रहेका छन् । तीमध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको सापकोटाले बताउनुभयो । रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो ।
उहाँले निर्वाचन सुरक्षाका लागि वैशाख २ देखि नै सुरक्षा निकाय परिचालन भएको बताउनुभयो । जिल्लामा पछिल्ला दिनमा राजनीतिक दलको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण सुरक्षा चुनौती भने थपिएकोे बताएको छ । रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी दिनुभयो । जिल्लामा पुरुष मतदाताभन्दा एक हजार ५७६ महिला मतदाता बढी छन् ।
जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देश बाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको बताइएको छ । मतदाता सूचीमा करिब एक हजार ५७६ बढी मात्र महिला मतदाता देखिए पनि मतदानमा यो सङ्ख्याको अन्तर अझै बढ्न सक्ने आकलन गरिएको छ ।
जिल्लामा चुनावी प्रचार–प्रसारमा समेत महिलाको सङ्ख्या बढी देखिएका कारण मतदानमा समेत यसको प्रभाव पर्न सक्ने बताइन्छ । रोल्पामा स्वतन्त्रसहित एक हजार १३० उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाका केही मतदान केन्द्रलाई मात्र संवेदनशील भनिएकामा पछिल्ला दिनमा राजनीतिक दलमा देखिएको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण जिल्लाका सबै मतदान केन्द्र संवेदनशील रहेको बताइएको छ ।

मतदान केन्द्रको जिम्मा महिलालाई
नवलपरासी बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको छ । मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिलामात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले बताउनुभयो । शर्माका अनुसार कावासोती नगरपालिका–३ स्थित जीवनज्योति माविमा रहेको मतदान केन्द्र (ख)मा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिलामात्रै खटाइएको हो ।
उक्त मतदान केन्द्रमा खटाइएका पाँच महिला कर्मचारीमा एक जना घरेलु तथा साना उद्योग कार्यालयबाट र चार जना जिल्ला अदालत नवलपुरबाट रहनुभएको छ । मतदान अधिकृत शान्ति गुरुङ, सहायक मतदान अधिकृत राधिका सापकोटा (घरेलु तथा साना उद्योग कार्यालय नवलपुर) सहायक कर्मचारी रचना ढुङ्गाना, सहायक कर्मचारी सुस्मिता पङ्गेनी र कार्यालय सहयोगी जीवकला केसी पराजुली गरेर पाँच जना सबै महिला कर्मचारीमात्रै खटाइएको शर्माले जानकारी दिनुभयो ।
निर्वाचन केन्द्र महिलामैत्री र नमूना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको उहाँको भनाइ छ । विगतमा भएका निर्वाचनमा समेत नमूना कार्यअन्तर्गत महिलामैत्री मतदान केन्द्र हुन गरेका थिए । गत निर्वाचनमा शिव मावि कावासोती दुईमा महिला कर्मचारीमात्रै खटाइएको थियो । नवलपुरमा स्थानीय तह निर्वाचनका लागि ११३ मतदानस्थल र २९९ वटा मतदान केन्द्र रहेका छन् ।

सबै मतदानस्थलमा मतपत्र पुग्यो
नवलपरासीपूर्व नवलपुरका सबै मतदानस्थलमा मतपत्र पुगेको छ । स्थानीय तह निर्वाचनका लागि सबै मतदानस्थलमा मतपत्रलगायत आवश्यक सामग्री पुगेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख शर्माले बताउनुभयो ।
जिल्लामा रहेका ११३ मतदानस्थलका २९९ मतदान केन्द्रमा आवश्यक पर्ने मतपत्र, मतपेटिकालगायत सामग्री पुगेको उहाँले बताउनुभयो । नवलपुरको पहाडी क्षेत्र तथा यातायातका हिसाबले विकट मानिने मतदानस्थलमा समेत मङ्गलबार रातिसम्ममा मतपत्र, मतपेटिक पुगेको शर्माले बताउनुभयो ।
जिल्लामा रहेका मतदानस्थलमध्ये १० वटा मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको छ । भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, ‘रेस्पोन्स टाइम’, सामाजिक संरचना आदिका आधारमा जिल्लाका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ । यहाँ ३८ मतदानस्थललाई संवेदनशीलमा राखिएको छ भने ६५ वटा मतदानस्थललाई सामान्यमा राखिएको छ ।
निर्वाचन आयोगको तथ्याङ्कानुसार नवलपुरमा २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको सङ्ख्या दुई लाख ५४ हजार ६१५ रहेको छ । जसमा पुरुष एक लाख २१ हजार ३८, महिला एक लाख ३३ हजार ५७३ र अन्य चार जना मतदाता रहेका छन् ।

डोटीमा निर्वाचनको तयारी पूरा, एक लाख २३ हजार ५५३ मतदाता
स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा कूल एक लाख २३ हजार ५५३ जनाले मतदान गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लामा ६५ हजार २७१ महिला तथा ५८ हजार २८२ पुरुष रहेका छन् । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको डोटीमा नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरी निर्वाचनमा सहभागी भएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा सत्तापक्षमै रहेको नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भएको जिल्ला निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानीय तहभन्दा दिपायल सिलगढी तथा शिखर नगरपालिकाको निर्वाचनलाई विषेश महत्वका साथ हेरिएको छ । यी दुई नगरपालिकामा ठूला दलले नयाँ तथा युवालाई उम्मेदवार बनाएकाले विशेष चासोका साथ हेरिएको शिखर नगरपालिका–११ का इन्द्रबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “शिखर र दिपायल सिलगढीमा उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ, अरू स्थानीय तहभन्दा नगरपालिकामा सबैको चासो देखिएको छ ।”
यसैगरी यस वर्ष गठबन्धन भएका कारण मतदाताले उम्मेदवारलाई दिनुपर्ने मत चिह्न पनि फरक–फरक भएको र मतदान गर्ने तरिका खासै नसिकेको हुँदा अन्य निर्वाचनभन्दा यस वर्ष मत बदर हुने सङ्ख्या बढ्न सक्ने पूर्वीचौकी गाउँपालिका चैकोटका स्थानीय चक्रबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनका कारण पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष फरक–फरक पार्टीका भएका र मतदान चिह्न पनि सोहीअनुसार भएकाले मतदाताले खासै सिकेका छैनन्, मत बदर बढी हुनसक्छ ।”
चुनावी तालमेल गरेका माओवादी केन्द्र तथा एकीकृत समाजवादीले जिल्लाका नौवटै स्थानीय तहमा आफूहरूको जीत सुश्चित रहेको दाबी गर्दै आएका छन् भने प्रमुख प्रतिपक्ष दल एमाले तथा सत्तापक्षकै कांग्रेसले गठबन्धन दलभित्रको मतभेदका कारण अधिकांश स्थानीय तहमा आफूहरूको जीत हुने दाबी गर्दै आएका छन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमाले पाँच, कांग्रेस तीन तथा माओवादी केन्द्रले एक स्थानीय तहमा विजयी हासिल गरेका थिए ।

