काठमाडौं – ६ महानगरपालिकामध्ये ५ वटामा सत्तारुढ दलका उम्मेदवारले अग्रता हासिल गरेका छन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् , भने अरु ५ वटा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
महानगरपालिकामा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच गठबन्धन रहेको छ ।
भरतपुर, विराटनगर, पोखरा, ललितपुर र वीरगंज महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । नेकपा एमालेका उम्मेदवार भने ६ वटै महानगरपालिकामा दोस्रो स्थानमा रहेको छ ।
महानगरको उपप्रमुखको हकमा भने एमालेले काठमाडौं, ललितपुर र विराटनगरमा अग्रता लिइरहेको छ ।
काठमाडौं महानगरको मेयरमा बालेन साहले २०७१ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका केशव स्थापितले ११६४ मत ल्याउँदै पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंह १००६ सहित तेस्रो स्थानमा रहेकी छिन् ।
काठमाडौंको उपप्रमुखमा भने एमालेले अग्रता लिइरहेको छ । एमालेकी सुनिता डंगोलले २००० हजार मत ल्याउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजेश्वर श्रेष्ठ ५८० मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै राप्रपाकी बिनिता मगैयाले ५१३ मत पाएकी छिन् । ललितपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले ८७७ मतसहित अग्रता लिइरहेका छिन् ।
नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मतसहित दोस्रो स्थानमा रहेका छन् ।महानगरको उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ४४४ मत ल्याएर अग्रता लिइरहेकी छिन् ।
गठबन्धनबाटै उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य भने २६७ सहित दोस्रो स्थानमा रहेका छन् । भरतपुरमा पनि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ११७८ मत ल्याउँदै अग्रता लिइरहेकी छिन् ।
नेकपा एमालेका बिजय सुवेदीले १०६८ मतसहित दाहाललाई पछ्याइरहेका छन् । उपप्रमुखमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले १२२६ मतसहित अग्रता लिइरहेका छन् ।
एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले ८३० सहित अधिकारीलाई पछ्याइरहेकी छिन् । त्यस्तै पोखरा महानगरमा पनि सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् ।
उनको मत ९२३ छ। एमालेका कृष्णबहादुर थापा ८०६ मतसहित दोस्रो स्थानमा छन् । उपप्रमुखमा पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता लिइरहेकी छिन् ।
उनको मत १०२८ छ। एमालेकी एमाले मञ्जुदेवी गुरुङले ९०४ ल्याएर पछ्याइरहेकी छिन् । वीरगञ्ज महानगरमा प्रमुख र उपप्रमुख दुबैमा गठबन्धनको अग्रता रहेको छ ।
गठबन्धनबाट जनता समाजवादीका राजेशमान सिंहले १५०७ मत ल्याएर अग्रता लिइरहेका छन् । नेकपा एमालेका बिजयकुमार सरावगी ६६८ मतसहित सिंहलाई पछ्याइरहेका छन् ।
उप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ११०५ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई लोसपाका पुरुषोत्तमलाल झाले १६० मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै विराटनगरमा पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । नेपाली कांग्रेसका नागेश कोइरालाले २५८३ मतसहित अग्रता लिइरहेका छन् । त्यस्तै नेकपा एमालेका सागरकुमार थापाले १९९० मत ल्याएर कोइरालालाई पछ्याइरहेका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेकी शिल्पा कार्कीले १२१२ मत ल्याउँदै अग्रता लिइरहेकी छिन्। सत्ता गठबन्धनबाट जनता समाजवादीका अमरेन्द्र यादवले ८८७ मतसहित कार्कीलाई पछ्याइरहेका छन् ।

