बुटवल – बुटवल उपमहानगरपालिका–१ मा वडाध्यक्ष उम्मेदवारको आकांक्षा देखाएका पुरानो बटौलीका नरेन्द्र बस्नेतलाई कांग्रेसले टिकट दिएन।
सामाजिक क्षेत्रमा क्रियाशील उनी बलियो जनाधार भएका स्थानीय नेता थिए। तर, कांग्रेसले माधव प्रधानलाई उम्मेदवार बनायो।
पार्टीले टिकट नदिए पनि बस्नेतले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर बाजी मारेका छन्। ‘छरछिमेकी दाजुभाइको समर्थन थियो। त्यही बलले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको थिएँ’, उनले भने, ‘उहाँहरूकै साथमा आज जित हासिल गरेको छु।’
बस्नेतले चुनाव चिह्न पुतली पाएका थिए। उनी एक भोट पुतलीलाई भन्दै हिँडे। नागरिकको समर्थन बढ्दै गयो। स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई कांग्रेसले निष्कासन नै गर्यो। उनलाई कारबाहीले कुनै प्रभाव पारेन।
उनले ६ सय ३६ मत पाएर चुनाव जितेका छन्। उनका प्रतिस्पर्धी एमालेका महेन्द्र लिगलले ५ सय ५१ मत पाउँदा कांग्रेसका प्रधानले ३ सय ४१ मत मात्रै पाएको थियो । यो वडामा १ हजार ९ सय ६८ मत खसेको थियो।
यसअघिको चुनावमा कांग्रेसबाट टिकट पाए पनि उनी एमालेका लिगलसँग पराजित भएका थिए। उनले ०५४ सालमा वडाध्यक्ष जितेका थिए। त्यतिबेला पनि उनी पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए।
त्यस बेला उनको चुनाव चिह्न झाडु थियो।‘मलाई विश्वास गरेर मतदान गर्ने र अन्य मतदाताको भावनाअनुसार वडाको विकासमा लाग्नु मेरो जिम्मेवारी हो, उनले भने।
वडाका चार सदस्यमा भने कांग्रेस उम्मेदवार विजयी भएका छन्। महिला सदस्यमा निलम गौतम, दलित महिला सदस्यमा किरणसिंह धोबी र खुला सदस्यमा आशोक राई र अजित अहमद खान निर्वाचित भएका छन् ।
निर्वाचनमा १ मतको महत्व कति हुन्छ भन्ने रुपन्देहीको शुद्धोधन–१ का कांग्रेस उम्मेदवार जुद्धबहादुर यादवले भोगेका छन्। स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उदयराज गडेरियाले १ मतले उछिन्दै वडाध्यक्षमा यादवलाई पराजित गरेका हुन ।
शनिबार दिउँसो सकिएको मतपरिणामअनुसार गडेरियाले ९ सय ९२ र कांग्रेसका यादवले ९ सय ९१ मत पाएका छन्। यो वडामा राप्रपाका उम्मेदवार तेस्रो भएको छ ।
रुपन्देहीको सबै पालिकामा मतगणना थालिएको छ। तर, निकै सुस्त गतिमा गणना भएकाले परिणाम आउन केही दिन लाग्ने देखिएको छ।

