वीरगन्ज – पर्सामा २१ वर्षीय युवा पालिका प्रमुखमा निर्वाचित भएका छन्। पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का २१ वर्षीय वशीष्टकुमार गुप्ता निर्वाचित भएका छन् ।
निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार कुर्मीलाई ११७ मत अन्तरले पराजित गर्दै जसपाका गुप्ता, गाँउपालिका अध्यक्षमा विजयी भएका छन् । गुप्ताले ३ हजार ७४३ मत पाएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका कुर्मीले ३ हजार ६२६ मात्रै मत पाएको निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिएका छन् ।
यस्तै कालीकामाई गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी राजमति बरैनी ३९८२ मतका साथ निर्वाचित भएकी छिन्। उनका निकटम प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले ३८५९ मत पाएकी छन्।
५ वटा वडा रहेको कालीकामाई गाँउपालिकामा ३ वटा वडा जसपाले जित्दा कांग्रेस र एमालेले १-१ वडा जिते । कालीकामाई गाँउपालिका अध्यक्षमा गुप्ता विजयी भएसँगै पर्सा जिल्लामा जसपाले अहिलेसम्म दुई वटा पालिकाले जीत हासिल गरे ।
यसअघि जिल्लाको धोविनी गाउँपालिका अध्यक्षमा जसपाका मदन चौहान अध्यक्षमा विजयी भएका छन्। १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा हालसम्म ३ पालिकाको मात्रै नतिजा सार्वजनिक भएको हो ।

