सबैलाई पठाउनु होला

निर्मवाचन –   महिलाले टिकट पाउनै गाह्रो, पाए पनि  जित्नै गाह्रो। यस्तै अवस्था भोग्दैछन्, स्थानीय तहमा उम्मेदवार बनेका अधिकांस महिला। ‘फाट्टफुट्ट’ पालिका प्रमुखमा उम्मेदवार बन्न पाएका महिलाहरूलाई चुनाव जिन्त गाह्रो भएसँगै स्थानीय सरकारमा महिलाको संख्या घट्ने देखिएको छ ।

११ उपमहानगरपालिकामध्ये बाराको जितपुर सिमरामा एमालेले सरस्वती चौधरीलाई मेयरको टिकट दिएको थियो तर उनी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलसँग पराजित भएकी छन्।

चौधरीले १७ हजार ७७९ मत ल्याएकी छन् भने पौडेल १८ हजार ७४३ मत ल्याएर विजय भएका छन्। जितपुर सिमराको उपप्रमुखमा भने एमालेकै उम्मेदवार भोलीप्रसाद अधिकारी विजयी भएको छ ।

काठमाडौंको टोखा नगरपालिकामा रजनी थापा मेयरको उम्मेदवार थिइन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थापा झिनो मतले पराजित भइन्। उनलाई एमालेका प्रकाश अधिकारीले पराजित गरेको हो ।

अधिकारीले १० हजार ३४० मत ल्याएका छन्। रजनीको १० हजार १६६ मत  रहेको छ। २०७४ सालको निर्वाचनमा थापा उपमेयरमा उठेकी थिइन्। त्यसबेला उनको पराजय भएको थियो।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा एमालेकी बीना बाँस्तोलाले ठूलो कसरतपछि मेयरको टिकट पाइन्। तर, गठबन्धनको तर्फबाट कांग्रेसका जीवन खत्रीसँग थोरै मतले पराजित भइन्। खत्रीले ९ हजार ५५० मत ल्याएर जितेका थिए ।

उनीसँग पराजित बाँस्तोलाले ९ हजार १६० मत ल्याइन्। काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले मेयरको टिकट पाएकी छन्। देशभर गठबन्धनले चुनाव जित्दा कांग्रेसका नेता प्रकाशमान सिंहकी श्रीमती सिंहले तेस्रो स्थानमा रहेकी  छन्।

काठमाडौंको मेयरमा सिंहभन्दा तीन दोब्बर बढी मत स्वतन्त्र उम्मेदवार बालेन साहले पाएका छन्। एमालेका उम्मेदवार केशव स्थापितको मत पनि सिंहको भन्दा बढी छ। बाँकेको डुडुवा गाउँपालिकामा एमालेले सरोजकुमारी यादवलाई उठायो। तर, उनी पनि पराजित भइन्।

जनकपुरधामको नगरप्रमुखका लागि तराई मधेश लोकतान्त्रिक पार्टीले उम्मेदवार बनाएको थियो, विभा ठाकुर। जनमत पार्टीबाट अनिता साह पनि प्रमुखको उम्मेदवार रहेकी  छिन्। तर, मतगणनामा दुवैजना निकै पछाडि रहेकी छन्।

सत्ता गठबन्धनले उपप्रमुखमा समेत महिलालाई उम्मेदवार बनाइन। गठबन्धनका उपप्रमुखका उम्मेदवार किशोरी साह नै हालसम्म अगाडि रहेका  छन्। एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी रुना झा र लोकतान्त्रिक समाजवादी पार्टीकी रीता झा पनि हालसम्मको मत परिणाममा निकै पछि छन्।

‘महिलालाई न त जनताले पत्याए, न त पार्टीले नै,’ विभा ठाकुर भन्छिन्, ‘यो दुर्भाग्य हो।’ चुनावमा ‘मनि र मसल’ को प्रयोगका कारण महिलालाई चुनाव जित्न गाह्रो भएको उनले बताइन्।

उनले भनिन्, ‘महिलाले करोडौं खर्चेर मत किन्ने र भोजभतेर गर्न नसकेकै कारण उनीहरूलाई चुनाव जित्न गाह्रो छ’ ।

  • ‘महिलालाई न त जनताले पत्याए, न त पार्टीले नै’
  • ‘मनि र मसल’ को प्रयोगका कारण महिलालाई चुनाव जित्न गाह्रो

सप्तरीको राजविराज नगरपालिकामा जनमत पार्टीबाट ममता झा नगरप्रमुख र साधना दास उपप्रमुखमा उम्मेदवार छन्। तर, हालसम्मको मतगणनामा दुवैै निकै पछि छन्।

सप्तकोसी नगरपालिका प्रमुखमा जनमत पार्टीबाट उम्मेदवार बनेकी प्रियंका कुमारी सन्तलाई जमानत जोगाउन पनि गाह्रै छ। सर्लाहीकै गोडैता नगरपालिकामा पनि माओवादी केन्द्रबाट नगरप्रमुख पदका लागि अनितादेवी राय उम्मेदवार भएकी थिइन।

तर, उनको जित्न सम्भव भएन।  ‘महिला मतदाताको भोट निर्वाचनमा निर्णायक हुँदै आएको छ,’ नेतृ मोनिका सिंह भन्छिन्, ‘महिला मतदाताहरू नै महिलालाई मत दिँदैनन्। यो दुःखको कुरा हो।’ आफ्नै मेहनत र आत्मविश्वासका साथ निर्वाचनमा उत्रिएका संघर्षशील महिलालाई चुनाव जित्न कठिन हुने गरेको सिंह बताउँछिन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित ३५ हजार ४१ जनप्रतिनिधिमध्ये १४ हजार ३ सय ५३ अर्थात् ४० प्रतिशत महिला निर्वाचित भएका थिए। जसमध्ये १८ महिला मात्रै स्थानीय निकायको प्रमुखमा निर्वाचित भएका थिए।

महिला उम्मेदवारलाई मतमा सकस

मकवानपुरमा धेरै महिला उम्मेदवारहरूले हार ब्यहोर्नुपरेको छ। बकैया गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार सरला बोलेखे गठबन्धन दल कांग्रेसका अध्यक्ष उम्मेदवार धर्मराज लामिछासँग भारी मत अन्तरले पराजित भइन्।

भीमफेदी गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारसँग नेकपा एमालीकी पार्वती राना उपाध्यक्षमा १६ मतले पराजित भइन्। कांग्रेसका सञ्जीव श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी रानाले ५ हजार २९९ मत प्राप्त गरिन्।

कैलाश गाउँपालिकाको उपाध्यक्षमा सुकुमाया थिङ पराजित भइन्। यसअघि पनि एमालेबाट गाउँपालिका उपाध्यक्ष रहेकी उनी माओवादी केन्द्रका बालकुमार मल्लसँग १५१ मतले पराजित  भएकी हुन्।

मनहरी गाउँपालिकामा एकीकृत समाजवादीकी मनिला विष्टले जम्मा २ हजार ४१ मत प्राप्त गरेकी छन्। उनी यसअघि एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्। हालसम्म मकवानपुरमा ३ जना महिला मात्र पालिका नेतृत्वमा निर्वाचित भएका छन्।

२ पालिका महिलाविहीन

दैलेखका २ स्थानीय तहको अध्यक्ष र उपाध्यक्षमा महिलाविहीन भएका छन्। नौमूले गाउँपालिका र ठाटीकाँध गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद महिलाविहीन भएका हुन्।

नौमूलेमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो। माओवादीले अध्यक्ष र एकीकृत समाजवादीले उपाध्यक्ष पाउने गरी पद बाडफाँट गरेको छ ।

दुवैले पुरुष उम्मेदवार उठाए। माओवादीका छविराम सुवेदी अध्यक्ष र समाजवादीका गंगाबहादुर शाही उपाध्यक्षमा निर्वाचित भएको हो ।

ठाटीकाँध कांग्रेसबाट रक्षबहादुर शाह र उपाध्यक्षमा एमालेबाट देवीराम बडुवाल निर्वाचित भए ।

दुवै पदमा महिला विजयी

दैलेखको भैरवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा महिला उम्मेदवार निर्वाचित भएका छन्। गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएको हो ।

अध्यक्षमा कांग्रेसकी रीता शाही निर्वाचित भएकी छन्। उनले ३९७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। शाही कांग्रेस दैलेखको उपसभापति हुन्।

२०७४ को स्थानीय निर्वाचनमा भैरवी गाउँपालिका–३ को वडाध्यक्षमा निर्वाचित देवी भण्डारी अहिले उपाध्यक्षमा निर्वाचित भएकी छन्। कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भण्डारी २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित हुने दैलेखको ९० वडामै एक्लो हुन्।

उनी ३३७४ मतसहित गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन्।  निकटतम प्रतिद्वन्द्वी एमालेका पदमकुमारी बिष्टले ३२२७ मत पाइन्। बिस्ट २०७४ को निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

यो गाउँपालिकामा चारवटा वडामा एमाले, दुईवटामा कांग्रेस र १ वटामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com