विराटनगर – मुचुल्कामा उल्लेख भएभन्दा बढी मतपत्र भेटिएपछि मोरङको रंगेली नगरपालिकाको मतगणना दुई दिनदेखि ठप्प रहेको छ ।
गठबन्धन दल धाँधली भएको भन्दै पुनः मतदानको मागसहित सडकमा उत्रिएका छन् । उनीहरू निर्वाचन आयोगले मतगणना गरेर रिजल्ट टाँसेर हिँड्ने तयारी गरेको भन्दै आयोगविरुद्ध नाराबाजीमा उत्रिएका हुन् ।
वडा नं. ७ को मतगणनाका क्रममा खसेको मतभन्दा १ सय ८ मत बढी पाइएको थियो । मुचुल्कामा ३ हजार २ सय ४२ मत खसेको उल्लेख छ तर मतपेटिकामा ३ हजार ३ सय ५० मत भेटियो ।
रंगेलीका निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले खसेको मतपत्रभन्दा १ सय ८ मत बढी भएको स्वीकार गरेको छ । कम्प्युटर इन्ट्री दोहोरो हुँदा त्यस्तो भएको उनको दाबी रहेको छ ।
‘प्रत्येक सय मतपत्र गणना गरेर कम्प्युटर इन्ट्री गरिन्छ । त्यसैक्रममा सय मतपत्रको दोहोरो इन्ट्री भएको पाइयो । गणना गर्न बाँकी रहेका मतपत्र गन्दा ८ वटा बढी पाइयो ।’
निर्वाचन अधिकृतको तर्कसँग दलका प्रतिनिधिहरू सहमत छैनन् । दुई दिनदेखि ठप्प रहेको मतगणनालाई सुरु गर्न निर्वाचन आयोगले शनिबार अनुसन्धान थालेको हो ।
आयोगले प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीको नेतृत्वमा मोरङका प्रशासकीय अधिकृत प्रवीणा ढकाल र कानेपोखरी गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेको तीन सदस्यीय टोली अनुसन्धानका लागि खटाएको छ ।
यो विषयमा आयोगको केन्द्रीय अनुगमन समितिका संयोजक दीर्घराज मैनालीले पनि अनुगमन सुरु गरे । अनुसन्धान समितिको सुझावपछि दलको प्रतिनिधि नआए पनि निर्वाचन आयोगको निर्देशिका दफा १६७ अनुसार गणना सुरु गर्ने तयारी रहेको छ ।
रंगेलीमा यसअघि पनि विवादका कारण दुई दिन मतगणना रोकिएको थियो । त्यतिबेला वडा ८ को मतपेटिका फुटेको भन्दै विवाद भएको थियो ।
त्यतिबेला निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आएर विवाद मिलाएपछि मतगणना सुरु भएको थियो । रंगेलीमा हालसम्म वडा १ देखि ५ सम्मका गणना सकिएको छ ।
ती सबै वडामा एमालेले प्यानल नै जितेको छ । अहिले वडा ६ देखि ८ सम्मको आधा मत गणना हुँदा मेयरमा एमालेका दिलीप बगोडियाले ७ हजार ३ सय ८५ र कांग्रेसका मोदराज घिमिरेले ५ हजार ७८ मत पाए ।
वडा नं. ९ को बाकस खोल्न बाँकी नै छ । एमालेका बगोडिया अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । यसपालि उनी एमाले प्रवेश गरेर मेयरका उम्मेदवार बनेका छन् ।
कांग्रेसबाट मेयरका उम्मेदवार तथा मोरङ कांग्रेसका सचिवसमेत रहेका मोदराज घिमिरेले निर्वाचन बदर गरेर पुनः मतदान नगरेसम्म सडक आन्दोलन जारी रहने बताएको छ । ‘स्पष्ट धाँधली भएको पाइयो ।
निर्वाचन आयोगले जबर्जस्ती नतिजा टाँसे गठबन्धन दललाई मान्य हुने छैन,’ उनले भने । गठबन्धन दल मतगणना बहिष्कार गरेर सडकमा उत्रिएपछि रंगेली तनावग्रस्त बन्दै आएको छ ।
झडप हुँदा प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । मतगणना स्थल जनता क्याम्पस रंगेलीमा एमालेबाहेकका कुनै पनि दलका प्रतिनिधि रहेका छैनन् ।

