काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भएको औपचारिक घोषणा भएपछि धन्यवाद र्याली सुरु भएको छ।
शुक्रबार बिहान राष्ट्रिय सभागृहमा निर्वाचन अधिकृतको कार्यालयले विजयी घोषणा गरेपछि र्याली सुरु भएको हो। लौरो निर्वाचन चिन्ह पाएका बालेन्द्रले ६१ हजार ७ सय ६७ मत ल्याएर मेयरमा निर्वाचित बनेका थिए ।
स्वतन्त्र उम्मेदवार उनले कांग्रेसकी सिर्जना श्रेष्ठ र एमालेका केशव स्थापितलाई धेरै मत अन्तरले पराजित गरेका थिए । निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले ३८ हजार ३ सय ४१ र एमालेका केशवले ३८ हजार १ सय १७ मत ल्याएका थिए ।
निर्वाचित भएको घोषणा पछि साहले काठमाडौंका मतदातालाई धन्यवाद दिएका छन् । उनले काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउनका लागि सबैलाई मिलेर जान अपिल गरेक छन् । उनले यसलाई हाम्रो विजयभन्दा पनि कार्यको सुरुवात हुने उद्घोष गरेका छन् ।
काठमाडौं महानगरको उपमेयरमा उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छिन्। डंगोलले ६८ हजार ६ सय १२ मत ल्याइन्। उनले प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको भन्दा दोब्बर बढी मत ल्याइन्।
रामेश्वरले २३ हजार ८ सय ६ मत मात्रै प्राप्त गरेका थिए । अधिकांश समर्थकहरुले बालेनको फोटो अंकित टिसर्ट लगाएका छन्। एकअर्कालाई अबिर दलेर खुशीयाली मनाइरहेका छन्।

