वरिष्ठ प्रशिक्षक पाइलट – वरिष्ठ प्रशिक्षक पाइलट, क्याप्टेन प्रभाकर घिमिरेसँग सन् २०१० मा मेरो पहिलो भेट भएको थियो। उहाँले हामीलाई उडान सञ्चालनका आवश्यकताहरू सम्बन्धमा जानकारी दिनु भएको थियो। यस अर्थमा उहाँ मेरो गुरु हुनुहुन्थ्यो। जहिल्यै मैले गुरुकै रूपमा लिएँको हुन्छु ।
उहाँमा कहिल्यै बडप्पन रहेन। शालिन स्वभावका धनी क्याप्टेनले जुनसुकै भेटमा पनि मित्रवत् व्यवहार गर्नुहुन्थ्यो। आपसी संगत, आनीबानी अनि कमाइको फरकपनाका कारण जो कोही पाइलट सबैसँग खुल्दैनन् भन्ने गुनासो सुनिन्छ। तर, यस मामिलामा प्रभाकर सर, भिन्न हुनुहुन्थ्यो। परिचितसँग उहाँ निकै सरल व्यवहार गर्नुहुन्थ्यो।
एउटै पेसा भएकाले उहाँसँग धेरै पटक भेटघाट भयो। कतिपटक त उहाँकै उडानमा पनि उडियो। तर, सामान्यतया छोटो औपचारिकतामा नै भेट सकिन्थे। एकदिन एउटा सानो पार्टीमा भएको भेटघाटले हामीलाई निकै नजिक बनायो। सम्बन्ध गाढा बन्यो।
त्यो पार्टीमा उहाँले भन्नुभयो– आजका उडान सकेँ। मेरो धर्म भनेको कर्म गर्ने हो। फल दिने त उसले (भगवान्) हो।’ उहाँले गीतालाई उद्धृत गर्दै तर्क गरेपछि मैले भिन्न मत राखेको थिए । ‘होइन क्याप्टेनसाब, उस (भगवान्)लाई हाम्रो कर्मले केही फरक पार्दैन। हामीले जस्तो कर्म गर्छौ, त्यस्तै भोग्छौ। चाहें राम्रो गरौं या नराम्रो। कर्मको फल त भोग्नैपर्छ।
कोही यसबाट उम्कन सक्दैन। अर्को अर्थमा भन्ने हो भने कर्म गर्ने पनि हामी, फल दिने पनि हामी,’ मैले उहाँको भनाइप्रति थप तर्क गर्दैै भने, ‘तपाईको कुरा अलि मिलेन नि, सर।’ उहाँले तुरुन्तै प्रतिवाद गर्नुभयो र भन्नुभयो– ‘कर्म गर्नुपर्छ, फलको आशा गर्नुहुन्न।’ उहाँको भनाइमा सहमति जनाउँदै मैले पनि थपेंको थिए । हो, मैले भनेको पनि त्यही हो। कर्म गरेपछि त तपाईंले भोग्नैपर्छ। अनि, फलको चिन्ता किन लिइराख्ने ? त्यो त अवश्य मिल्छ। फरक यत्तिमात्र हो, फल तपाईंले चाहेअनुसारको होइन, गरेअनुसारको मिल्छ।’
उहाँले भन्नुभयो– ओहो सर, एकदम सजिलोसँग भन्नुभयो। गीता अध्ययन गर्नुहुन्छ र ?’ मैले हाँसेर जवाफ दिए, ‘कोरोनाको कृपा, लकडाउनभरि केही काम पाइएन। गीता नै साथी भयो।’ मेरो पनि ठ्याक्कै त्यस्तै हो सर, उहाँले पनि जवाफ फर्काउनुभयो। ‘फ्लाइट थिएनन्। घरमा अरू काम थिएन। मैले त थुप्रै किताब जोडेको छु, सरलाई चाहिए भन्नु होला। त्यत्रा किताब पढ्दा बल्लबल्ल एउटा साउथ इन्डियनले बच्चालाई लेखेको किताब पढेर मलाई बुझें जस्तो लाग्यो,’ उहाँले भन्नुभयो।
हो सर, मैले पनि सुनेको। चीनमा बच्चाहरूलाई स्कुलमै माओ तु चिङ पढाउन थालिएको छ रे। अनि भारतमा पनि कताकतै स्कुलको कोर्समै भागबद्गीता राख्न थालिएको छ रे। त्यो उमेरमै बच्चाहरूलाई आध्यात्मिक ज्ञान दिँदा प्रविधिसँग राम्रो तालमेल राख्न सक्छन्।
होइन भने हाम्रो प्रविधि यसरी गइरहेको छ कि मान्छे दिनदिनै एक्लिँदै गएको छ। यस्तै भएमा मानवता नै संकटमा पर्न सक्नेछ। ‘नेपालमा पनि कसैले बच्चाले बुझ्ने गरी गीताको किताब लेखेको भए, क्याप्टेनसाबले मुख्य मुद्दा अघि सार्नुभयो। ‘मैले त्यो गर्न खोज्दैछु,’ मेरो जवाफ थियो। उहाँ निकै खुसी हुनुभयो। ‘ओहो सर, मैले सही मान्छे भेटेछु, प्लिज त्यो काम गर्नुहोला,’ उहाँले आग्रह गर्नुभयो, ‘अनि मैले पनि सहयोग गर्ने मौका पाउँ। जे जस्तो सहयोग चाहिन्छ त्यो भन्नु होला। म एकदम तयार छु। किताब चाहिए किताब छन्, छपाउन कुनै समस्या भएन।’
त्यसपछि क्याप्टेन प्रभाकर र मेरो गफ घण्टौंसम्म चल्यो। हामीले गीतामा जे बुझेका थियौ, राम्रैसँग चर्चा गर्यौं। अध्यात्मको उचाइमा उडान गर्न लागेको वरिष्ठ पाइलटलाई देखेर मलाई कुनै अचम्म लागेन। पाइलटको पनि मन हुन्छ। कहिले सिसाजस्तो छर्लंग खुलेको आकाशमा उड्दा तिनलाई स्वर्गमा उडेजस्तो महसुस हुन सक्ला। कहिले उदाउँदो सूर्यलाई टक्कर दिने, कहिले अस्ताउँदो सूर्यलाई लखेट्ने। हरिया फाँट, रमाइला डाँडा, अग्ला पर्वत तथा हिमालय खुल्दा पक्कै पनि पाइलटहरूको मन खुल्छ।
कति पटक आपत्मा परेका यात्रीले भगवान्लाई पुकार्छन्। त्यस्तो बेला पाइलटबाट उद्धार पाउँदा कृतज्ञले हेर्छन्। जुन दृश्यले संसारको सबैभन्दा ठूलो सन्तुष्टि पाइलटलाई मिल्छ। ती सुखका क्षण यस्ता मीठा र अविस्मरणीय हुन्छन्, जुन रंगीन दुनियाँमा पसेर जति नै पैसाको खोलो बगाए पनि त्यत्ति सन्तुष्टि प्राप्त हुन सक्दैन।
जीवनको आनन्द अन्त कतै नभै आफैंभित्र भएको महसुस गर्छन् नै। फरक यत्ति हो कतिले त्यसलाई व्यक्त गर्छन्, कतिले गर्दैनन्। कतिले त्यसको खोजबिन गर्छन्, कतिले गर्दैनन्। हाम्रो उडान उद्योेगले उत्कृष्ट पाइलटहरू पाएको छ। उपरथी क्याप्टेन गुञ्जमान लामा, क्याप्टेन रामेश्वर थापा, क्याप्टेन बी.यम. अमात्य, क्याप्टेन डी.आर. निरौलाहरू उत्कृष्ट पाइलट हुन। उहाँहरूको पेसागत जीवन एउटा सिंगो किताब जस्तो लाग्छ।
क्याप्टेन दीपककुमार लामा भन्नुहुन्थ्यो– एउटा विदेशी पाइलट प्रत्येक वर्ष आफ्नो गुरु भेट्न काठमाडौं आउँछ। त्यसका गुरु यतैका एक गुम्बामा छन्। त्यसो त पाइलट बाबा आफैं ठूला आध्यात्मिक गुरु हुन्, उनी पनि त विमान उडाउने नै पाइलट छन् ।
मैले कोरोना लकडाउनमा एउटा किताब लेख्ने सोच बनाएको थिएँ। सोच त बनाएँ, तर त्यसअनुसारको लेख लेख्दा एकदम सोध गर्नुपर्ने महसुस गरेंको थिए । किताबको काम तत्कालका लागि रोकियो। तर मेरो मन भागवत् गीतामा गएर अड़कीयो । गीता बुझ्न लगभग तीन महिना लगाएँको थिए । जव बुझें ममा यौटा आनन्दको सञ्चार भयो। जिन्दगीको रहस्य बुझें जस्तो लाग्यो।
मैले जुन किताब लेख्न चाहेको थिएँ अब त्यो लेख्न जरुरी सम्झिनँ। मैले धेरै अध्ययन गर्न बाँकी छ, जस्तो लाग्दथ्यो। अब त्यो लागेन। बरू म आफ्नै सजिलो व्याख्या गरी किताब निकाल्ने सुरमा पुगेको थिएँ। जब क्याप्टेनसाबसँग भेट भयो, विचार बदलियो। मैले कीर्तिपुरमा बस्ने बचपनदेखिका साथी, ऋषि बराललाई एकदिन भनेको थिएँ, तिम्रो नजिकै ट्याङलाफाँटमा एकजना आध्यात्मिक पाइलट हुनुहुन्छ। कुनै दिन फुर्सद मिलाएर कुराकानी गर्नुपर्छ।
त्यसबाट उनि एकदम उत्साहित थिए। फोनमा पटकपटक गुनासो गरिरहन्थे– खोइ त, भेटघाट भएन ?’ हो भेट भएन । अब त हुँदै हुँदैन। मैले अहिलेसम्म भनेको छैन, तर भन्ने छु नै।’ गीताको किताब निकाल्ने सहमतिपछि क्याप्टेनसाबसँग तीन दिन भेट भयो। पहिलो भेटमा उहाँले भन्नुभयो– सरले भनेका किताब सबै किनें, भिडियो हेर्न सुरु गर्दैछु।
समयाभावका कारण लामो गफ हुन पाएन। तर जति भयो त्यो एकदम महत्त्वपूर्ण थियो। अर्को दिन फेरि चर्चा भयो। उहाँले हाम्रो चर्चा अरूलाई पनि सुनाउनुभयो। अन्तिम, सायद हप्ता दिन अगाडि मात्रै भएको थियो। त्यस दिन उहाँ मेरो कार्यालयमा भेटिनु भएको थियो। तर बोली अलिकति फरक थियो। ‘किताब के भयो सर ?’ उहाँले सोध्नुभयो।
सुरु गरिसकें,’ मेरो जवाफ थियो। हुन पनि, मैले पहिलो अध्याय पूरा गरेर दोस्रोको लगभग आधाउधी पुर्याइसकेको थिएँ। त्यसबाट अघि बढ्न भने सकेको थिइनँ। लामो समयदेखि रोकिएको थिएँ। म तयार पार्छु, अनि सँगै बसेर छलफल गरौंला भन्ने जवाफ उहाँलाई दिएँ। उहाँले भन्नुभयो– सर, मरेर के लानु छ र ? मेरो ज्ञान र किताब अरूको काम आओस् भन्ने चाहना छ।’
हुन्छ सर, सरले सोचेजस्तो गीता बन्नेछ,’ मैले जवाफ फर्काएँ। बस, त्यही हाम्रो अन्तिम भेट रह्यो। बच्चाले बुझ्ने गीता नेपाली भाषामा तयार हुँदा सहायता गर्ने उहाँको सपना अधुरै रह्यो। गीता उपर किन यति धेरै आशक्ति त ?
मैले मनन गरें, ‘उहाँले साँच्चै नै गीता बुझ्नु भएको रहेछ। गीतमै लिखिएको छ– लाखौमा एक गीता बुझ्न खोज्छ र लाखौं बुझ्न खोज्नेमा एउटाले पु्ूरै बुझ्दछ।’
गीतामै लेखिएको छ, मोक्ष तुरुन्त सम्भव छ, यो प्राप्त भएपछि फेरि जीवन मरणको सञ्जालमा बाँधिनु पर्दैन।
धार्मिक व्यक्तिले त्यसैलाई बैकुण्ठधाम भनेका छन्। र, गीतामा अर्को महत्त्वपूर्ण कुरा लेखिएको छ– मोक्ष ज्ञानको रूपमा प्राप्त हुन्छ। म विश्वस्त छु। हाम्रा क्याप्टेन त्यस उचाइमा पुगिसकेको हुनुपर्छ।
साँच्चै नै क्याप्टेनसाबले आफ्नो धर्म निभाउनु भयो। हजारौ घण्टाको उडान गर्नुभयो। कोही सौखिन त कोही आपत्मा परेका यात्रीहरूलाई तिनको गन्तव्यमा पुर्याउनुभयो। उहाँको उडानमा बच्चा उडे। वयस्क उडे । वृद्ध र नाबालक उडे। नेपाली उडे, विदेशी उडे। राजनेता उडे, ठूला व्यक्तित्व उडे। धनी उडे, अशक्त, रोगी र निर्धन पनि उडे।
लाखौं यात्रीलाई उहाँले गन्तव्यमा पुर्याउनु भयो। यति मात्र होइन, उहाँबाट धेरैले शिक्षा लिए, धेरै जना पाइलटले दक्षता प्राप्त गरे। मैले भनिसकें पाइलट नभएता पनि मैले पनि उहाँबाट ज्ञान प्राप्त गरें। उहाँले आफ्नो धर्म निभाउनु भयो। तर त्यसको फल ?
उहाँले कहिल्यै पनि त्यसको चिन्ता गर्नु भएन। चिन्ता यति नै रह्यो, उहाँले पछिल्लो समयमा प्राप्त गरेको ज्ञान बाँड्न मौका मिलेन। भगवान्ले यति आशीर्वाद दिऊन कि क्याप्टेन साबको त्यो सपना म पूरा गर्न सकूँ।

